हेटौंडा/सीमान्तकृत चेपाङ जातिको जीवनशैलीलाई जीवन्त बनाइराख्नका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले राष्ट्रिय चेपाङ संग्र्रहालय स्थापना गर्ने भएको छ । संग्रहालयका लागि पालिकाले आफ्नै लगानीमा भवन निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याइएको जनाएको छ ।
भवन निर्माण सम्पन्न भएलगत्तै चेपाङ समुदायसँग समन्वय गरी राष्ट्रिय संग्रहालयका रुपमा सञ्चालन गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । यसअघि तत्कालीन जिल्ला विकास समितिले राक्सिराङ गाउँपालिका–५, चैनपुरमा संग्रहालय स्थापना गरे पनि प्रभावकारी भएको थिएन । पाँच करोड ३१ लाख २२ हजार ९ सय ५६ रुपियाँ लागत अनुमान गरी २०७८ असार १७ गते भवन निर्माणका लागि टेन्डर आह्वान गरी पालिकाले चेपाङ संग्रहालयको काम थालेको थियो । ठेक्का प्रक्रिया सुरु भएको चार वर्षपछि भवन निर्माण सम्पन्न हुन लागेको पालिका योजना प्रमुख चुननारायण श्रेष्ठले बताए ।
ठेकेदार कम्पनी बानियाँ–सुन्दर जेभीले तीन करोड ६९ लाख सात हजार ९४ रुपियाँमा ठेक्का सदर गरी भवन निर्माण थालेकामा चालु आर्थिक वर्षको असार मसान्तमा काम सम्पन्न हुने गरी काम अघि बढेको योजना प्रमुख श्रेष्ठले बताए । भवन निर्माण कार्य सकिएपछि चेपाङ संग्रहालय स्थापनाका लागि चेपाङ जातिका लोप हुँदै गएका परम्परा, जीवनशैली र दैनिक जीविकोपार्जनका लागि उपयोग गरेका सामग्री राखिने पालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार संग्रहालयलाई ॅहेर्ने, खानेर लान’ मोडलमा विकास गर्न लागिएको छ ।
चेपाङका जाबी, एकपाखे ढ्यांग्रो, माछा मार्ने जाल, जंगली जनावरको शिकार गर्दा प्रयोग गरिने हतियारलगायत सामग्री हेर्नका लागि राखिने तयारी छ । चेपाङ समुदायले बाँच्नका लागि उपभोग गरेका गिठ्ठा, भ्याकुर, तरुललगायत खानेकुरासमेत राखेर रेस्टुराँ सञ्चालन गर्ने गरी कार्यविधि निर्माण गरी संग्रहालय व्यवस्थित गरिने पालिका अध्यक्ष मल्लले बताए ।
त्यसका अलावा चेपाङद्वारा उत्पादित सामग्री र खाद्यान्न बिक्री कक्षसमेत सञ्चालन गरी संग्रहालयलाई ॅहेर्ने, खाने र लाने’ मोडलमा विकास गर्न लागिएको उनको भनाइ छ । ॅहामी राक्सिराङलाई चेपाङ समुदायबारे जान्ने, अध्ययन गर्ने र बुझ्ने स्रोतकेन्द्रका रुपमा विकास गर्न गइरहेका छौं,’ अध्यक्ष मल्लले भने–चेपाङसँग सम्बन्धित कयौं अध्ययन र अनुसन्धान गर्न बाँकी नै छ । ती काम अघि बढाउनुपर्ने छ ।
संग्रहालय निर्माण भएपछि चेपाङ जातिका लोप हुँदै गइरहेका भेषभुषा, खानपान, शिकारका उपकरण र पौराणिक कथासमेत जीवित हुने अपेक्षा गरिएको नेपाल चेपाङ संघ केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य गोबिन्दराम चेपाङले बताए । मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहुँ र लमजुङमा विशेषगरि चेपाङ समुदायको बसोबास छ । जनगणना २०७८ अनुसार देशभर चेपाङको जनसंख्या ८४ हजार ३ सय ६८ छ ।









