हेटौंडा/नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लाभरका सबै २९ उपशाखाको सहभागितामा विपद् व्यवस्थापनसम्बन्धि समन्वय बैठक भएको छ ।
बैठकले जिल्लामा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक सामग्री एवम् जनशक्ति व्यवस्थापन गर्दै सम्पूर्ण तालिमप्राप्त स्वयम्सेवकलाई तयारी अवस्थामा राख्ने, उपशाखाको वैधानिक दायित्व पूरा गर्दै वार्षिक साधारणसभाको तयारी गर्ने लगायत निर्णयहरु गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति यशोदा श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला शाखा मन्त्री सुमित्रा काफ्लेले समग्र विपद् व्यवस्थापन तथा उपशाखा परिचालन, उपमन्त्री शिवहरि दाहालले जुनियर/युवासर्कल एवम् स्वयम्सेवक परिचालनबारे छलफल चलाएका थिए । बैठकमा उपकोषाध्यक्ष मंगल रखाल, सदस्यहरु रामजी सापकोटा, पिताम्बर बा“स्तोला, नारायण तिमल्सिना, कार्यालय प्रमुख लक्ष्मण भट्टराईलगायत पदाधिकारी तथा सदस्य, उपशाखा सभापतिहरु, सचिव एवम् पदाधिकारीको उपस्थिति थियो ।
उपमन्त्री दाहालले विपद् जोखिम न्यूनीकरणसम्बन्धि सूचनाप्रवाह सशक्त हुनुपर्ने बताए । विपद् व्यवस्थापन बैठकमा उनले जिल्लामा विपद्को उच्च जोखिम रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणमा रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । उनले भने–विपद् र विपद् जोखिम न्यूनीकरणसम्बन्धि समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य हामीले गर्नुपर्दछ ।
उनले विपद्बाट धनसम्पत्ति क्षति रोक्ने र समयमै उपयुक्त सूचनाप्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गरे । उनले बढी विपद्को कारक मानिस नै रहेको बताए । ॅपानी निकासको बाटो ब्लक भएको छ । त्यसले विपद्को सामना गर्नु परिरहेको छ,’ उनले भने । उनले विपद् र जोखिम न्यूनीकरण व्यवस्थापनमा आफूहरुले सशक्त भूमिका निर्वाह गर्ने बताए ।