31.9 C
Makwānpur
HomeUncategorizedहेटौंडामा किन घट्दैछन् भँगेरा ?

हेटौंडामा किन घट्दैछन् भँगेरा ?

मनिता राना

हेटौंडा/तीव्ररुपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको संख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि विहान भएको थाहा हुन्थ्यो । ॅघरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । ती सबै विगत भइसके,’ हेटौंडा–३ का ७२ वर्षीय निराजन राउतले भने–अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।

आक्कलझुक्कलमात्र भँगेरा देखिने गरेको उनी बताउँछन् । तीव्ररुपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनाशको कारण मान्छन् । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि संख्या घट्दै जानु स्वभाविक भएको उनको भनाइ छ । भँगेराको संख्या घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन् । चराविज्ञ हिरुलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन् क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेकोसमेत पाइएको छ । ॅध्वनि प्रदुषणले पनि भँगेरालाई असर गर्छ,’ उनले भने–खेतबारिमा किसानले विषादिको अधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।

खेतबारिमा हुने कीरा र विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहार पनि कम हुँदै गएको उनले बताए । काग, बिरालो, अन्य शिकारी चराले भँगेराको शिकार गर्ने भएकाले पनि संख्यामा कमी देखिएको उनको भनाइ छ । उनका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउनसक्ने व्यवस्था गरिनुपर्छ । गुँड लगाउने वातावरण बनाउने कार्यसगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौं ।

पर्यावरणमैत्री संरचना अभावमा भँगेराको संख्या तीव्ररुपमा घटिरहेको बताइएको छ । घरवरिपरि सजिलै पाइने भँगेरा पछिल्लो समय घट्दै गएको चरा संरक्षणकर्मीले बताएका हुन्‌ । विगतमा धेरै पाइने भँगेरा अचेल अन्य प्रजातिका चराको तुलनामा तीव्ररुपमा कम भइरहेको चराविद् डगौराले बताए । सहरीकरणलगायत कारणले संरचना पर्यावरणमैत्री नहुँदा भँगेराहरु घटिरहेको जनाइएको छ । ग्रामीण क्षेत्रमा मान्छेले विषादी हालेर पनि भ“गेरालाई मार्ने गरेको बताइएको छ । विगतमा फुस र खरको छानो भएका काठका घर हुँदा घरमा भँगेराले सजिलै गु“ड लगाउने र बस्ने गरेका थिए तर अचेल त्यस्ता संरचना निकै कम छन्‌ ।

आधुनिक भवन निर्माण, बढ्दो सहरीकरण, रुख विनाश र आहारको कमीलगायत कारण भँगेरा हाल एकदम कममात्रामा देखिने गरेको डगौराको भनाइ छ । उनले भँगेरा जोगाउनका लागि पर्यावरणमैत्री संरचना निर्माण गर्न आवश्यक रहेको औंल्याए । भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादी प्रयोग गर्नुपर्ने उनी सल्लाह दिन्छन् । नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा र पीतकण्ठे भँगेरा गरेर चार प्रजातिका भँगेरा पाइने गरेका छन्‌ । मोटरसाइकल मर्मत गर्दै आएका वीरबहादुर चौधरीले मोटरसाइकलका पार्टपुर्जा राखेको बट्टा पसलवरिपरि झुण्ड्याइदिँदा त्यसमा भँगेराले गुँड बनाएर बचेरा निकाल्ने गरेको बताए । उपमहानगरपालिकाले भँगेरालगायत अन्य प्रजातिका चरालाई गुँड लगाउनका लागि सडक क्षेत्रमा चराका लागि कृत्रिम घर बनाउनुपर्ने सुझाव आएको छ ।

चेतना जगाउने उद्धेश्यले प्रत्येक वर्ष मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । चरा संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आआफ्‌नो घरवरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन् । हेटौंडाका केही घरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घरवरिपरिका रुखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुमन चौधरीले बताए ।

९१ प्रजातिका चरा
नेपालमा पाइनेमध्ये करिब ९१ प्रजातिका चरा हेटौंडाआसपास रहेको पाइएको छ । यति घेरै प्रजातिका चरा पाइने भए पनि यस क्षेत्रमा चरा संरक्षणसम्बन्धि खासै कदम चालिएको पाइँदैन । यस क्षेत्रमा पाइने चरा संरक्षण गर्न न सरकारी निकायबाट कुनै पहल भएको पाइन्छ, न त स्थानीयस्तरबाट । चरासम्बन्धि खोज तथा अनुसन्धान गर्ने सरकारी तथा गैरसरकारी संस्थाको पनि यस क्षेत्रमा नजर गएको पाइँदैन । बासस्थान तथा चरनक्षेत्र विनास, बढ्दो चोरी/शिकार, उडान मार्गमा हुने अवरोध र बदलिँदो तापमान तथा मौसम परिवर्तन जस्ता कारण यस क्षेत्रमा पाइने चरा हराउन थालेको वनविज्ञान अध्ययन संस्थान हेटौंडाको बीएस्सीका अनुसन्धानकर्ता विद्यार्थीले बताएका छन् । उनीहरुले करिब ६ महिना लगाएर गरेको स्थलगत् अनुसन्धानबाट हेटौंडा क्षेत्रमा किंगफिसर, बर्बेप र पोण्ड हिरेनलगायत चरा पाइएको छ ।

करिब ९१ प्रजातिका चरा पाइने ठाउँलाई बेवास्ता गरेर अगाडि बढिएन र अब पनि यस क्षेत्रमा नजर लगाइएन भने चरा संरक्षण अभियानले पूर्णता नपाउने निश्चितजस्तै रहेको उनीको दाबी छ । हेटौंडा क्षेत्र चराको स्थायी बासस्थानमात्र नभएर यो चराका लागि भूपरिधि पनि हो । चराले यस क्षत्रलाई बसाईंसराइका लागि पनि प्रयोग गरेको पाइन्छ । ‘चरा संरक्षण अभियान सफल बनाउन यस क्षेत्रको पनि संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ,’ उनीहरुको प्रतिवेदनमा भनिएको छ–स्थानीयस्तरमा यसलाई सहभागितामूलक जैविक विविधता संरक्षण तथा दीगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकाससँग लैजानु आवश्यक छ । यदि यसो गर्न सकिए यस क्षेत्रको जैविक विविधता संरक्षण, पर्यटन क्षेत्र विकास गर्न सकिने उनीको विचार छ । उनीहरुले चरा संरक्षण अभियानलाई सफल बनाउन सकिने भन्दै यस क्षेत्रका सरोकारवाला निकायले चासो दिनु आवश्यक रहेको सुझाएका छन् । संसारभर ११ हजार ३३ प्रजातिका चरा पाइन्छन् । नेपालमा ८ सय ७० प्रजातिका चरा पाइन्छन्, जुन संसारको ९ प्रतिशत् हुन्छ ।
चरा जोगाउन मकवानपुरमा पछिल्लो समय स्थानीयस्तर केही सक्रिय देखिन्छ । माघे संक्रान्तिका दिन खाने तरुल खोज्न मानिसहरु जंगल जाने गर्दथे र त्यही मौका छोप्दै उनीहरु चरा मार्थे । परम्पराका रुपमा विकसित भएकाले बालबालिकादेखि पाकासम्म चरा लखेट्न कस्सिन्थे । थाहा नगर क्षेत्रमा पछिल्लो समय यस्तो कार्य भएको छैन । पालुङका जंगलमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पनि पाइन्छ । उक्त क्षेत्रमा केकति प्रकारका चरा पाइन्छन् भन्ने विषयमा अध्ययन बाँकी छ । विश्वमा अन्त कतै नपाइने काँडे भ्याकुर पालुङ उपत्यकामा पाइन्छ । काँडे भ्याकुर समुद्री सतहबाट १ हजार २ सय मिटरमाथिका क्षेत्रमा पाइन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here