24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामहिलालाई बारिष्टा तालिम
spot_img

महिलालाई बारिष्टा तालिम

spot_img

हेटौंडा/मनहरी गाउँपालिका–६ मा नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा र मनहरी गाउँपालिका वडा नम्बर–६ वडा कार्यालय तथा सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा १५ दिने बारिष्टा (कफीमेकर) तालिम सम्पन्न भएको छ । तालिम समापन समारोह पालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा अध्यक्ष कालाखेतीले कफी पिउने व्यक्तिको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उक्त क्षेत्रमा व्यावसायिक सम्भावना रहेको धारणा व्यक्त गरे । तालिमको महत्वलाई जोड दिँदै उनले भने–तालिम लिएर व्यवहारमा लागु गर्न नसक्दा लगानी खेर जान्छ । पालिकाले समूह बनाएर आउनेलाई विभिन्न प्रकारका तालिम र आवश्यक सहयोग प्रदान गर्न तयार रहेको बताएका उनले तालिमले व्यक्तिगत् फाइदा पनि दिने भन्दै आफ्‌नै घरमा कफी तयार गरेर खानुका साथै व्यवसाय सञ्चालन गर्ने अवसरसमेत उपलब्ध गराउने हुनाले नयाँ काम सुरु गर्न हौसला व्यक्त गरे ।

- Advertisement - Ad Banner

वडा नम्बर–६ का अध्यक्ष युवराज थपलियाले तालिमका लागि युवा धेरैले फाराम भरे पनि छनौट प्रक्रियाबाट महिलाहरुलार्ई मात्र सहभागी गराइ तालिम सञ्चालन गरिएको बताए । उनले महिलालाई स्वरोजगारमूलक र उद्यमशीलतासँग जोड्न यस्ता तालिम आवश्यक रहेकाले सञ्चालन गरिएको बताए । उनले भने–तालिमले उनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ । आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष पार्वती मोक्तानले तालिमबाट प्राप्त सिपलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्न सहभागीलाई प्रेरित गरिन् । उनले वडा कार्यालयसँग सहकार्य गर्दै काम गर्ने अवसर पाएको उल्लेख गर्दै अब महिलाले नयाँ काम गर्दै समाजमा स्थापित हुनुपर्ने समय आएको बताइन् । उनले भनिन्‌–यस तालिमले धेरै महिलाको आत्मबल बढाएको हुनुपर्छ । अरुको भर नपरी आफ्‌नै खुट्टामा उभिन सकुन् भन्ने उद्धेश्यले तालिममा योगदान गरेका हौं ।

तालिमको प्रशिक्षण मेघा इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका शिक्षक सुवास न्यौपानेले दिएका थिए । उनले तालिममा सहभागीको उत्साह र सक्रियता प्रशंसनीय रहेको बताउँदै भने–सहभागीको तीव्र सिक्ने इच्छाले तालिमलाई प्रभावकारी बनाएको छ ।

तालिममा ६० महिलाको सहभागिता थियो । नमुना सामुदायिक विकास समिति सामाजिक परिचालक रुपक कालीराजले तालिमले आत्मनिर्भर बन्ने मार्ग खोल्ने विश्वास व्यक्त गर्दै सिक्ने चाहनालाई निरन्तर कायम राख्न आग्रह गरे । उनले सहभागीको उज्ज्वल भविष्यको कामना गर्दै रोजगारमूलक अवसर खोजीमा समितिले निरन्तर काम गरिरहेको जानकारी दिए । तालिममा सहभागी पूजा मोक्तानले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउँदै अब व्यावसायिक क्षेत्रमा केही नयाँ गर्ने योजना बनाएको जानकारी दिइन् । प्रशिक्षार्थी मीना प्रजाले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाइन् ।

समापन समारोहमा पालिकाका अध्यक्ष कालाखेतीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरे । प्रशिक्षकहरु त्था आर्थिक सहयोगदाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सामुदायिक विकास समितिका कार्यक्रम संयोजक सन्देश थिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडा सदस्य, सामाजिक अगुवाहरु र स्थानीय बुद्धिजीवीको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि