हेटौंडा/बागमती प्रदेशसभा सचिवालयले माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी गरेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ,’ सभामुख पाठकले भने–प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ । त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौं । प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला ।
बैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेश सभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । उक्त अवधिमा बसेका ३८ बैठकले चार वटा विधेयक पारित गरेको थियो भने पाँच वटा विधेयक समितिमा पठाएको थियो ।