22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआर्थिक समस्या बढ्दै जाँदा उत्पादन अन्यौलमा
spot_img

आर्थिक समस्या बढ्दै जाँदा उत्पादन अन्यौलमा

spot_img

हेटौंडा/हेटौंडा–९ स्थित हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै गएको छ । यसले उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उपकरण मर्मतसम्भार गरी मंसिर पहिलो साताबाट उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर, त्यसमात्रले पनि उत्पादन रोकिएको होइन,’ उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने–आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।

- Advertisement - Ad Banner

‘हाल उत्पादन ठप्प छ । तर, नियमित खर्च छ जस्ताको त्यस्तै छ,’ प्रवक्ता आचार्यले भने–उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलबभत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ, यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइनै हाल्यो,’ उनले भने । उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत् रहेको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तिमा दैनिक एक सय २० टन कच्चापदार्थ कोइला आवश्यक पर्छ,’ उनले भने–तर, त्यो छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना छैन । यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।

आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा बक्यौता थुप्रिएको छ । ‘विद्युत् उपभोग त गर्‍यो तर, महसुल बुझाउन सकिएन,’ उनले भने–हाल ठ्याक्कै कति महसुल बक्यौता छ भने भन्न नसकिए पनि करिब ४० करोडजति बक्यौता होला । त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको कथन छ ।

२०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ देखि उत्पादन सुरु गरेको थियो । हाल उपकरणहरु पुरानो भइसकेका र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । ‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ । त्यस्तो अवस्थामा हामीले अपेक्षाकृतरुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौं,’ उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने–त्यही भएर हामी पुरानो उपकरण मर्मत गरिरहेका छौं । त्यसमा मेकानिक लगिरहनुभएको छ । धेरै कामहरु सकिसकेको छ । थोरै बाँकी छ । छिट्टै मर्मत काम सक्छौं । त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ ।

एकपछि अर्को समस्यासँग जुध्दै आएको उद्योगले भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ । उपकरण मर्मत कार्य सम्पन्न भएर पुस दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।

‘उद्योगको क्लिंकर मेसिनलगायत उपकरण मर्मत भइरहेकै छ,’ अध्यक्ष भण्डारीले भने–हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट उत्पादन सुरु हुने अनुमान गरेका थियौं । तर, उपकरण मर्मत नसकिएकाले उत्पादन सुचारु हुन केही दिन लाग्ने उनको भनाइ छ ।

उद्योगसँग आर्थिक समस्याका बाबजुत् उपकरण मर्मत कार्यसम्पन्न हुने बित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्ररुपमा भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तै उत्पादन सुरु गर्ने तयारी भएको बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि