HomeUncategorizedलागुऔषधको ट्राञ्जिट प्वाइन्ट मकवानपुर

लागुऔषधको ट्राञ्जिट प्वाइन्ट मकवानपुर

सुनिता बिष्ट
हेटौंडा/भदौ ३० गते विहान ५ बजे मकवानपुर प्रहरीले भारिमात्राको लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लियो । हेटौंडा-१५ स्थित प्रहरी चौकी रातोमाटेमा चेकका क्रममा प्रहरी टोलीले २ सय ३० किलो लागुऔषध गाँजा फेला पार्‍यो ।
धादिङको थाक्रे गाउँपालिका-४ बस्ने ३४ बर्षका जीवन मगर र सोही गाउँपालिका वडा नम्बर-६ बस्ने ३० वर्षका प्रदीप क्षेत्रीले वा. २१ प ५२२६ नम्बर पिकअपमा लुकाएर ल्याएको गाँजासहित प्रहरीले दुवै जनालाई नियन्त्रणमा लियो । गाडीको ढालामा लुकाएर ल्याइएको गाँजासहित मगर र क्षेत्रीलाई जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उक्त परिमाणको लागुऔषध गाँजा छिमेकी भारत पुर्‍याउन लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको उक्त पिकअपमा प्लाष्टिकमा प्याक गरेर १६ पोका बनाएर ल्याइएको अवस्थामा उक्त लागुऔषध गाँजा फेला परेको हो ।

त्यसको ९ दिनअगाडि भदौ २१ गते पनि मकवानपुर प्रहरीले १४ किलो गाँजासहित धादिङकै दुई जनालाई नियन्त्रणमा लिएको थियो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ७ ख ६०६१ नम्बर यात्रुबाहक बसमा सवार धादिङको गजुरी गाउँपालिका-८ बस्ने ४२ वर्षका केदार तामाङ र सोही स्थानका ३६ वर्षका सुकमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । झोलामा लुकाएर २८ वटा पोका बनाएर ल्याइएको लागुऔषध गा“जासहित उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

यी र यस्ता घटनाहरु त प्रतिनिधिमात्र हुन् । छिमेकी देश भारतको सिमानानजिक रहेको मकवानपुर प्रहरीले वर्षेनी सयौं किलो लागुऔषध गाँजा बरामद गर्ने गरेको छ । गाँजामात्र होइन, अफिम, खैरो हेरोइन, चरेश, क्लोरेस, नाइट्राभेट जस्ता लागुपदार्थहरु प्रहरीले भारिमात्रामा नियन्त्रणमा लिने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना अर्थात् साउन र भदौमा मकवानपुर प्रहरीले २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए । मकवानपुर प्रहरी प्रवक्तासमेत रहेका डीएसपी भण्डारीका अनुसार यस अवधिमा ४ सय २ किलो ९ ग्राम गाँजा बरामद गरिएको छ ।

अफिम १ ग्राम, खैरो हेरोइन २ ग्राम, चरेश ३० किलो २ सय ५० ग्राम र ३ सय क्याप्सुल नाइट्राभेड बरामद गरिएको डीएसपी भण्डारी बताउँछन् । जसका लागि प्रयोग भएका ५ वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडा-पथलैया-वीरगञ्ज भएर छिमेकी मुलुक भारत पुग्नका लागि छोटो दुरीको रुपमा रहेको राजमार्गमा मकवानपुर प्रहरीले वर्षे नी हजारौं किलो लागुऔषध गाँजा बरामद गर्दै आएको छ भने सयौं मानिसलाई नियन्त्रणमा लिने गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ हजार ५ किलो ७ सय ग्राम गाँजा बरामद गरेको तथ्यांक छ । अफिम १४ किलो १ सय ६० ग्राम, खैरो हेरोइन ५१ ग्राम, चरेश २१ किलो, क्लोरेक्स १ हजार ५ सय ४० बोतल, नाइट्राभेट ४ हजार ४ सय २ ट्याब्लेट र ३ हजार ९ सय ८१ एम्पुल बरामद गरिएको जनाइएको छ । प्रहरीका अनुसार उक्त आर्थिक वर्षमा २ सय ४८ जना पक्राउ गरिएको छ भने पक्राउ परेकामाथि अनुसन्धान गर्न १ सय ५३ मुद्धा दर्ता गरिएको थियो । यी परिमाणको लागुऔषध ओसारपसारका क्रममा प्रयोग भएका ४० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारी बताउँछन् ।

आर्थिक वर्ष २०८०/८१ मा पक्राउ पर्नेहरुको संख्या बढेको मकवानपुर प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्षमा २ सय ४९ जनालाई आगुऔषधसहित पक्राउ गरिएको उल्लेख छ । जसमा लागुऔषध गाँजा ३ हजार ९ सय ३६ किलो १० ग्राम, अफिम १३ किलो ४० ग्राम, खैरो हेरोइन ७८ ग्राम, चरेश १ सय ४ किलो ५ सय ४४ ग्राम, कोरेक्स १ हजार २ सय ७ बोतल, नाइट्राभेट २ हजार ५ सय ७५ ट्याब्लेट र ४ हजार ४ सय २६ एम्पुल बरामद गरिएको जनाइएको छ । डीएसपी भण्डारीका अनुसार लागुऔषध ओसारपसारमा प्रयोग भएको ३९ थान सवारी नियन्त्रणमा लिइएको थियो । भारतसँगको खुला सीमामा रहेको मकवानपुरमा लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेसँगै पक्राउ पर्ने को संख्यामा समेत बृद्धि भएको प्रहरीको दाबी छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here