हेटौंडा÷बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट निर्माण प्रक्रिया थालनी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण प्रक्रिया थालेको हो । जसका लागि बजेटको स्रोत व्यवस्थापन समितिले बजेटको सम्भावित आकार र स्रोतको बा“डफा“ट निर्धारण गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आगामी आर्थिक वर्षको बजेट आकार घट्ने सम्भावना बढेको छ ।
समितिको मूल्यांकनअनुसार आगामी वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १७ अर्ब अर्थात् २५.८९ प्रतिशत् घट्ने अनुमान गरिएको हो । मन्त्री तामाङका अनुसार आगामी आर्थिक वर्षका लागि करिब ५० अर्ब हाराहारीमा बजेट तयार गर्ने गरी स्रोत अनुमान गरिएको छ । प्रदेश सरकारले ४७ अर्बलाई आधारभुत आकार निर्धारण गरे पनि केही अत्यावश्यक र थप योजना समावेश गर्दा बजेटको सीमा ५० अर्बसम्म पुग्नसक्ने उनको भनाइ छ । चालु आर्थिक वर्ष ६७ अर्ब ४७ करोड बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षमा ५० अर्बभन्दा बढीको बजेट ल्याउन सक्ने अवस्था नरहेको मन्त्री तामाङको भनाइ छ ।
‘बजेटको स्रोतका रुपमा प्रदेश सरकारले बा“डफा“ट प्राप्त हुने राजस्वबाट ३० अर्ब ८९ करोड पाउने अनुमान गरेको छ, जुन कुल बजेटको ५० प्रतिशत्भन्दा बढी हिस्सा हो,’ मन्त्री तामाङले भने–आगामी बजेटमा संघीय अनुदानतर्फ रकम पनि घट्ने अनुमान गरेका छौं । संघीय सरकारले संविधानको व्यवस्थाअनुसार प्रदान गर्ने विभिन्न शीर्षकको अनुदानबापत् रकम १३ अर्ब ८१ करोडमात्र प्राप्त हुने अनुमान गरिएको हो । संघको बजेट घट्नेबित्तिकै प्रदेशको बजेटको आकार घट्छ ।
प्रदेश सरकारको आन्तरिक आयतर्फ हिस्सा भने कुल बजेटमा ४ अर्ब १२ करोड रहेको मन्त्री तामाङले बताए । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनपश्चात् नगद मौज्दात ५ अर्ब रहने भएकाले बजेटको आकार खुम्चिने अवस्था रहेको उनको भनाइ छ । विगतमा नगद मौज्दात पनि बढी हुने भएकाले बजेटको आकार बढी हुने गरेको तर, आगामी वर्ष नगद मौज्दात पनि घट्ने अवस्था रहेको मन्त्री तामाङको भनाइ छ । राजस्व संकलनको लक्ष्य भेट्टाउन कठिन भइरहेको अवस्थामा प्रदेश सरकारले खर्चकटौती र उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणका लागि केही दिनमै मन्त्रालयगत्रुपमा सिलिङ पठाउने तयारी गरेको तामाङले जानकारी दिए ।










