27.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामकवानपुरमा कुन उम्मेदवारको एजेन्डा के ?
spot_img

मकवानपुरमा कुन उम्मेदवारको एजेन्डा के ?

spot_img

हेटौँडा÷ देशभरिझैँ मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल छ । उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर घरदैलोमा छन् । केही दलले ठुला तथा बृहत् सभाहरू आयोजना गरे पनि अधिकांश दल तथा उम्मेदवारले घरदैलो र मतदाता भेटघाटलाई नै प्राथमिकतामा राखेका छन् । आम निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न प्रमुख दलहरूले लिखित घोषणापत्रहरू समेत सार्वजनिक गरेका छन् ।

मौन अवधिअघि प्रमुख दल तथा उम्मेदवारहरूले आ–आफ्नो सङ्कल्प र प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मतदाता रिझाउन व्यस्त छन् । पूर्वाधार विकास, सुशासन, शिक्षा, स्वास्थ्य र सुकुम्वासी समस्या समाधान यसपटक सबैजसो दलका साझा एजेन्डा बनेका छन् ।

- Advertisement - Ad Banner

मकवानपुरका सबैजसो उम्मेदवारहरूले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासहरूको समस्यालाई प्राथमिकतामा राखेका छन् । वर्षौंदेखि थाती रहेको यो समस्या समाधान गरी जग्गाधनी पुर्जा वितरण गर्ने र कानुनी अड्चनहरू फुकाउने प्रतिबद्धता सबै दलको साझा एजेन्डा बनेको छ ।

हेटौँडालाई व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने सोचमा उम्मेदवारहरूबिच मतैक्यता देखिएको छ । हेटौँडा चक्रपथ निर्माण, वैकल्पिक मार्गहरूको खोजी र सडक विस्तारका क्रममा प्रभावित हुने नागरिकको सम्पत्तिको हक तथा उचित मुआब्जा सुनिश्चित गर्ने विषयलाई सबैले जोड दिएका छन् भने ग्रामीण क्षेत्रका सडकहरूको स्तरोन्नति र बाह्रै महिना यातायात चल्ने बनाउने योजना पनि साझा छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक र सीपमूलक शिक्षाको विस्तार तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रम धेरैजसो उम्मेदवारको प्राथमिकतामा परेको छ । स्वास्थ्यतर्फ हेटौँडा अस्पतालको सेवा विस्तार, हरेक स्थानीय तहमा विशेषज्ञसहित अस्पताल र विपन्नका लागि निःशुल्क स्वास्थ्य सेवा पु¥याउने विषयमा सबै एकमत छन् ।

कृषिलाई व्यवसायीकरण गर्ने, किसानलाई समयमै मल र बीउ उपलब्ध गराउने तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता साझा छ । विशेषगरी मकवानपुरको सन्दर्भमा गाँजा खेतीलाई औषधीय र औद्योगिक प्रयोगका लागि कानुनी वैधानिकता दिनुपर्ने एजेन्डा धेरैजसो उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई जिल्लामै रोक्न युवा उद्यमशीलता र स्टार्टअपका लागि सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र रोजगारीका अवसरहरू सिर्जना गर्ने दाबी सबै उम्मेदवारहरूले गरेका छन् । औद्योगिक क्षेत्रको विस्तार र स्थानीय उद्योगलाई प्रोत्साहन गर्ने विषय पनि सबैको साझा छ भने ऐतिहासिक मकवानपुरगढीको संरक्षण, बागमती र राप्ती नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण तथा धार्मिक एवं पर्यटकीय क्षेत्रहरूलाई जोडेर ‘पर्यटन सर्किट’ विकास गर्ने, तामाङ, चेपाङलगायत जनजाति समुदायको भाषा र संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटमुक्त बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र सुशासन कायम गर्ने प्रतिबद्धता सबै उम्मेदवारको संकल्पपत्रको सुरुवातमै उल्लेख छ ।

कांग्रेसको ‘विद्युतीय सुशासन’ र भ्रष्टाचारमुक्त सेवा प्रवाह
नेपाली कांग्रेसको तर्फबाट मकवानपुर–१ मा महाललक्ष्मी उपाध्याय ‘डिना’ र मकवानपुर–२ मा बुद्ध लामा उम्मेदवार छन् । उनीहरूले कांग्रेसको केन्द्रीय संकल्पसहित छुट्टै मुद्दाहरू समेटेर प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्, उनीहरूले ‘विद्युतीय सुशासन’ र भ्रष्टाचारमुक्त सेवा प्रवाहमा जोड दिएका छन् ।

हेटौँडाको मुख्य बजार क्षेत्रमा १६ मिटर सडक कायम गरी पर्यटन मार्ग विकास गर्ने, सरकारी इन्जिनियरिङ कलेज र आइटी अनुसन्धान केन्द्र स्थापना गर्ने योजना उनीहरूले अघि सारेका छन् । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा र कृषितर्फ ‘८ अ’ (अदुवा, आलु, अकबरे आदि) अभियानमार्फत व्यवसायीकरण गर्ने उनको प्रतिबद्धता छ ।

मनहरीमा ट्रमा सेन्टर निर्माण, गाँजाको वैधानिकतासहित व्यावसायिक तथा औषधिजन्य उत्पादनको पहल उनीहरूको सङ्कल्प रहेको छ । ग्रामीण क्षेत्रको सडक पूर्वाधार विकासमा जोड दिँदै आर्थिक उपार्जनको लागि विभिन्न स्रोतको खोजीका लागि कार्यक्रम तयार गर्ने योजना उनीहरूले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

सार्वजनिक निकायमा हुने दलीय भागबन्डा र राजनीतिकरणलाई पूर्ण रूपमा निषेध गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै विधिको शासन स्थापना गर्ने, लगानीमैत्री कानुन र कर प्रणालीको विकास गर्ने, ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत युवाहरूलाई डिजिटल सीप र स्वरोजगारमा जोड्ने, सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षालाई सीपसँग जोड्ने, समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउने र सबल सहकारीमार्फत आर्थिक सशक्तीकरण गर्ने, किसानलाई मल, बीउको सुलभ उपलब्धता गराउने र उत्पादनको उचित बजार मूल्य सुनिश्चित गर्दै ‘किसानको मूल्यमा उपभोक्तालाई ताजा नेपाली उत्पादन’ पु¥याउने, गाउँमै सहरको सुविधा पु¥याउने, सुरक्षित सडकको विकास गर्ने र जलविद्युतलाई आर्थिक आर्जनको मुख्य स्रोत बनाउने योजना उनीहरूले अघि सारेका छन् ।

एमालेले स्थिरता, सुशासन र मध्यवर्ती क्षेत्रको समस्या हल गर्ने
मकवानपुर–१ मा रामेश्वर राना र मकवानपुर–२ मा महेश कुमार बर्तौला नेकपा एमालेका उम्मेदवार रहेका छन् । उनीहरूले राष्ट्रिय स्वाधीनता र स्थिरतालाई मुख्य एजेन्डा बनाएका छन् । हेटौँडा बजारको व्यवस्थित विकाससँगै ग्रामीण सडकको स्तरोन्नतीका लागि गुरुयोजना तयार गर्ने उनीहरूले योजना बनाएका छन् ।

मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणको योजना अघि सारेका छन् । हेटौँडा र मयूरधाप औद्योगिक क्षेत्रको विस्तार, सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाबाट युवालाई सचेत गर्ने योजनाहरू एमालेले लिएको छ ।
मध्यवर्ती क्षेत्रको समस्या हल गर्ने, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरको विषय प्राथमिकताका साथ समावेश गरिएको छ । ‘एक पालिका–एक आवासीय विद्यालय’ र ‘खोरेतमुक्त मकवानपुर’ मौलिक कार्यक्रमसहित उनीहरूको प्रतिबद्धतामा उल्लेख छ ।

मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणको योजना अघि सारेका छन् । हेटौँडा र मयूरधाप औद्योगिक क्षेत्रको विस्तार, सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाबाट युवालाई सचेत गर्ने योजनाहरू एमालेले लिएको छ ।

नेकपाको ‘ग्रेटर हेटौँडा’ र महानगरको भिजन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्ट उम्मेदवार रहेका छन् । उनीहरूले सुशासन र पारदर्शिता सहितको सेवा प्रवाहलाई प्राथमिकताका साथ प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।

पूर्वाधार विकास, उद्यमशीलताका लागि सीप तथा पर्यटन क्षेत्रको विकासमा प्रविधिको प्रयोग जस्ता योजनाहरू उनीहरूले अघि सारेका छन् । हेटौँडाको दीर्घकालीन विकासका लागि ‘ग्रेटर हेटौँडा चक्रपथ’ र हेटौँडालाई महानगरपालिका बनाउने उनीहरूको योजना छ । नदी करिडोर निर्माण, राजमार्ग विस्तारका पीडितलाई उचित मुआब्जा र ‘एक सामुदायिक वन, एक उद्यम’ जस्ता नवीन एजेन्डाहरू आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन् ।

थाहा नगरपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकाको पर्यटन विकासका लागि गुरुयोजना तयार गर्ने, कृषिमा औद्योगिक तथा आधुनीकीकरणसहित उत्पादन वृद्धिका लागि कार्यक्रम तयार गर्ने जस्ता कार्यक्रम उनीहरूको प्रतिबद्धतामा समावेश छ ।

हेटौँडा तथा मयुरधाप औद्योगिक क्षेत्र विस्तार, साना र घरेलु उद्योग प्रवद्र्धन, युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास, ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, गुणस्तरीय सामुदायिक विद्यालय र प्राविधिक शिक्षा केन्द्र स्थापना गर्ने, गाउँपालिका स्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, प्राकृतिक स्रोत संरक्षण र बाढी–पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना, चुरे संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नेकपाका उम्मेदवारको छ ।

रास्वपाको डिजिटल सुशासन र स्मार्ट सिटी
राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)बाट मकवानपुर–१ मा प्रकाश गौतम र मकवानपुर–२ मा प्रशान्त उप्रेती उम्मेदवार छन् । उनीहरूले ‘सुशासन, समुन्नति र समृद्धि’को नारासहित डिजिटल सुशासनमा जोड दिएका छन् । हेटौँडा बजार क्षेत्रको व्यवस्थित विकास, पर्यवरणीय अवधारणा सहितको विकासमा उनीहरूको जोड छ ।

भूमिहीन, अव्यवस्थित बसोबासी र पुर्जा नभएका जग्गाको समस्यालाई स्थायी रूपमा समाधान गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ भने शिक्षा क्षेत्रमा ‘सीप÷रोजगारी’ को अवधारणा ‘पढ्दै कमाउँदै’ मोडल र वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने, प्राविधिक तथा डिजिटल शिक्षाको विस्तार र प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता रहेको छ । हेटौँडा बजार विस्तार, चित्लाङ–दामन–मार्खु–राक्सिराङ–मनहरी एकीकृत पर्यटन कोरिडोर र हेटौँडा आसपासलाई ‘स्मार्ट सिटी’ बनाउने सङ्कल्प उनीहरूको छ ।

स्थानीय संस्कृति (चेपाङ, तामाङ लगायत) मा आधारित पर्यटनलाई बढावा दिने योजना अघि सार्नुभएको छ । कृषि क्षेत्रमा बीउ, मल, सिँचाइ र बजारको सुनिश्चितता गर्दै कृषिलाई आधुनिकीकरण गर्ने, सरकारी सेवालाई अनलाइनमार्फत पारदर्शी बनाउने, सार्वजनिक खरिद र कर प्रणालीमा सुधार गर्ने, वन्यजन्तु र मानवबिचको द्वन्द्व समाधानका लागि बिमा र सुरक्षात्मक पूर्वाधारको व्यवस्था गर्ने, सुरक्षित वैदेशिक रोजगारीका लागि कडा नीति नियम बनाउने र युवाहरूलाई खेलकुदका माध्यमबाट अनुशासन र नेतृत्व विकासमा जोड्ने, बाढी, पहिरो र भू–क्षय नियन्त्रणका साथै चट्याङको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय छात्रवृत्तिमार्फत प्रविधि अध्ययनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रलोपाको गाँजा खेतीदेखि ‘राइट टु रिकल’को एजेन्डा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर–१ मा तेज प्रसाद उप्रेती र मकवानपुर–२ मा सन्तोष विष्ट उम्मेदवार छन् । उनीहरूले गाँजा खेतीलाई औषधीय प्रयोगका लागि वैधानिकता दिने र प्रशोधन उद्योग खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, भ्रष्टाचार नियन्त्रणका लागि ‘जनलोकपाल’ र खराब जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’को अधिकार सुनिश्चित गर्नेजस्ता राजनीतिक मुद्दाहरू अघि सारेका छन् । उनीहरूले काठमाडौँ–चित्लाङ सडकलाई राष्ट्रिय गौरवको आयोजनासरह प्राथमिकता दिने र कुलेखानी–फर्पिङ सडकलाई आधुनिक बनाउने तथा काठमाडौँ–थाहा–कैलाश हुँदै चितवन र पोखरा जोड्ने द्रुतमार्ग निर्माण गर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै उनले कक्षा १२ सम्म निःशुल्क शिक्षा, हरेक पालिकामा १५ शय्याको अस्पताल र हरेक वडामा एम्बुलेन्स सेवा पु¥याउने उनीहरूले घोषणा गरेका छन् । जडीबुटी, खानी र वनजन्य उद्योगमार्फत रोजगारी सिर्जना गरी बसाइसराइ रोक्ने उनको मुख्य लक्ष्य रहेको छ ।

कृषिमा बिचौलिया प्रथाको अन्त्य गर्ने, पर्यटन विकासका लागि गुरुयोजना निर्माण, नदी कटान नियन्त्रण, वैज्ञानिक कृषि प्रणाली र निःशुल्क शिक्षा एवम् स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा प्रत्याभूत गर्ने, हेटौँडाको सहरी क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने, दोहोरो कर प्रणाली अन्त्य गर्ने, निःशुल्क शिक्षासँगै प्रविधिमैत्री पाठ्यक्रम विकास, स्वास्थ्य उपचार सुविधा नभई अधिकारको रूपमा स्थापित गर्ने उनीहरूको प्रतिबद्धता छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि