21.7 C
Makwānpur
Homeसमाज१२ वर्षमा बल्ल भवन निर्माण पूर्ण
spot_img

१२ वर्षमा बल्ल भवन निर्माण पूर्ण

spot_img

हेटौंडा/नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत् भारत सरकारको आर्थिक सहयोगमा थाहा नगरपालिकाको घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । ३ करोड ७७ लाख सहयोगमा निर्माण गरिएको भवनलाई भारतीय राजदुतावास काठमाडौंका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तव र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले संयुक्तरुपमा उद्घाटन गरी औपचारिकरुपमा हस्तान्तरण गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत् भारत सरकारले उपलब्ध गराएको अनुदान रकम २८ कोठे विद्यालय भवन निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो । भारत र नेपाल सरकारबीचको सम्झौताअनुरुप परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरले परियोजना कार्यान्वयन गरेको हो ।

- Advertisement - Ad Banner

उद्घाटन समारोहमा दुतावास काठमाडौंका प्रथम सचिव वशिष्ठ नन्दनले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । उनले नेपाल सरकारले तय गरेका प्राथमिकताअनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीच विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गरे ।

२०६९ सालमा सम्झौता भएको विद्यालय भवन निर्माणका लागि विभिन्न समयमा ठेक्का सम्झौता रद्ध गर्दै पुनः ठेक्का लगाउदै १२ वर्षमा भवन निर्माणले पूर्णता पाएको उल्लेख गर्दै जिल्ला समन्वय समिति मकवानपुरका अधिकारी शान्ति बिकले काम ढिला हुनुको कारणबारे जानकारी गराइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजीबकुमार स्यांतानले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति प्रमोदकृष्ण जोशीले शुभकामना दिएका थिए ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख घलानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल, जनकल्याण एल्मुनाइ एसोसिएसन अध्यक्ष निरञ्जन अधिकारी, पालुङ क्याम्पस प्रमुख राजन मिश्र, प्याब्सन थाहा अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ बहुउद्धेश्यीय अध्यक्ष कृष्णबहादुर बिष्ट, जिल्ला समन्वय समितिका कर्मचारी, जिल्ला समन्वय समितिका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीलगायत भारतीय दुतावासका कर्मचारीको उपस्थिति थियो ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५ सय ४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४ सय ८३ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये काठमाडौंका ४० गरी बागमती प्रदेशमा १ सय ५ छन् । यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि