Homeसमाजकिड पावर नेपालकाे सप्ताहव्यापी कार्यक्रम: दुईसय किशोरीलाई अात्मरक्षा तालिम

किड पावर नेपालकाे सप्ताहव्यापी कार्यक्रम: दुईसय किशोरीलाई अात्मरक्षा तालिम

काठमाडौं | राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको सौजन्यमा उपत्यकाका तीनैवटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का दुई सयभन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो। तालिम प्रदान गरिएका विद्यालयहरु क्रमैसँग गान्धीआदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए। तालिम भद्र २५ बाट सुरु भई शुक्रबारसम्म सञ्चालन गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु, सहायक प्रधानाध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख विजया पौडेल, फिबी अवाले र किरण महर्जनको समेत तालिममा सहभागिता रहेको थियो। किडपावर नेपालसँगको लक्ष्मी सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहकार्यको प्रभावकारीताका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बैंकका प्रमुख शाखाका प्रवन्धक उज्वल घिमिरेले जानकारी दिए।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराए यसको प्रभावकारिता अझ बढ्ने बताए। यसैगरी श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक मीनबहादुर अछामीले तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाइने बताए। उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे।

यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थि लगायत शिक्षकहरुलाई समेत दिन सके यसले संरक्षित वातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयकी कक्षा ११ र १२ की संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो। यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्तरताका लागि आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले आग्रह गरेका थिए।

तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो। सुषमा पोखरेलका अनुसार दिन प्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरु बढ्दै गइरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरु सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताए। प्रशिक्षणका क्रममा सहभागी किशोरीहरुले सुरक्षाका विभिन्न समस्याहरु बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here