हेटौंडा/बाराको महागढीमाई नगरपालिका-१, बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला विधिवत्रुपमा सुरु भएको छ । दशैंको घटस्थापनाका दिन मन्दिरमा पूजा भएसँगै मेला आरम्भ भएको हो । मेला सुरु हुनु केही दिनअघि बाजागाजा, हात्ती-घोडा, ऊँट र बिभिन्न झाँकीसहित हजारौं भक्तजनको सहभागितामा शोभायात्रा निकालिएको थियो । मंसिर १७ देखि ३० गतेसम्म सञ्चालन हुने मेलामा नेपाल र भारतसहित लाखौं श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको
छ । मेला व्यवस्थापन समितिले विशेषगरि भारतबाट ठूलो संख्यामा गढीमाई माताप्रतिको आस्था राख्ने भक्तजन आउने विश्वास व्यक्त गरेको छ । गढीमाई मन्दिरको धार्मिक महत्व इतिहास किम्बदन्तीमा आधारित छ ।
यसका अनुसार हजारौं वर्षअघि मकवानपुरगढीकी तुलजा भवानी अर्थात् गढीमाईले भगवान् दास चौधरीलाई सपनामा दर्शन दिएर जेलमुक्त गराएको किम्वदन्ती छ । त्यही बेला चौधरीले देवीको आदेशअनुसार बरियारपुरमा त्रिशुल गाडेका थिए । जसपछि गढीमाई मन्दिरको स्थापना भएको बताइन्छ । हाल १० औं पुस्ताका शिव चौधरी मन्दिरका मूल पुजारी छन् । गढीमाई मन्दिरमा मंसिर शुक्ल पक्ष सप्तमीको दिन तान्त्रिक विधिबाट विशेष पूजा गरी पञ्चबलि चढाउने परम्परा छ । मंसिर २३ देखि २५ गतेसम्म विशेष पूजामा सहभागिता जनाउनका लागि ५ सय रुपियाँ सहयोग राशि तोकिएको
छ । यस वर्षको मेला मंसिर ३० गते आइतबार विसर्जनसँगै सम्पन्न हुनेछ ।
गढीमाई मेलामा पशुबलि दिने परम्परालाई तान्त्रिक विधिको हिस्सा मानिन्छ । विशेषगरि राँगाको बलि दिइन्छ भने मुसा, परेवा, बोका, राँगा र खरायोलाई पञ्चबलि चढाउने प्रचलन छ । बलि दिने विधि तान्त्रिक धामीको शरीरको पाँच स्थानबाट रगत निकालेर सुरु गरिन्छ । यस वर्ष मेला समितिले एक हजार बिघा क्षेत्रफलमा मेला आयोजना गरेको छ । उक्त क्षेत्रमा विभिन्न स्टल, मनोरञ्जन साधन, पार्किङ सुबिधा र सातै प्रदेशका कृषिजन्य वस्तु राख्ने तयारी गरिएको छ । भक्तजनको सुरक्षाका लागि हरेक चोकमा प्रहरी र अन्य सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
यस मेला नेपालका लागिमात्र नभएर सार्क राष्ट्रका श्रद्धालुका लागि पनि विशेष आकर्षणको केन्द्र बनेको छ । मेला व्यवस्थापन समिति अध्यक्ष उपेन्द्रप्रसाद यादबका अनुसार मन्दिरका मूल पुजारी चौधरी समुदायबाट नै रहने प्रचलन स्थापना कालदेखि रहिआएको हो । विशेष पूजा, बलि र मनोरञ्जनका साधनले यस पटकको मेला अझ आकर्षक बनाउने विश्वास गरिएको छ ।