हेटौंडा/मनहरी गाउँपालिकामा ३ दिने योग शिविर बुधबारबाट सुरु भएको छ । पालिकाका जनप्रतिनिधि, शाखा प्रमुख र कर्मचारीको तनाव व्यवस्थापनका लागि ३ दिने योग शिविर सुरु भएको हो ।
महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपालको आयोजना तथा मनहरी गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो । महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपाल कार्यकारी निर्देशक इन्दिरा न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता थियो ।
सेवाग्राहीलाई सेवा दिन पहिला कर्मचारी तनाव मुक्त भयौं भने सेवाग्राहीलाई सहज तरिकाले सेवा दिन सकिने बताउँदै कर्मचारीको तनाव व्यवस्थापनका लागि योग शिविर राखिएको अध्यक्ष कालाखेतीले बताए । सेवाग्राहीलाई सकारात्मक सन्देश जान पनि सघाउ पुर्याउने विश्वाससाथ शिविर राखिएको उनले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, मनहरी गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुबेदी, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, ९ नम्बर वडा अध्यक्ष रामकुमार श्रेष्ठ, कार्यपालिका सदस्य चतुरकुमार सुनार, कार्यपालिका सदस्य सबिता सुबेदी बर्तौला, योग शिविर प्रशिक्षक होमनाथ आचार्य, शाखा प्रमुखलगायत कर्मचारीको उपस्थिति थियो ।