हेटौंडा/मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपियाँको बजेट प्रस्ताव गरेको
छ । सार्वजनिक बजेटमार्फत् पालिकाले क्रसर उद्योगलाई प्राथमिकता दिएको छ ।
पालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनमा अध्यक्ष सके‘श घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले चालु आर्थिक वर्षभन्दा १२ करोड बढी बजेट प्रस्ताव पेस गरेका छन् । पालिकाले ५ करोड ७५ लाख रुपियाँ क्रसर उद्योग स्थापनाका लागि विनियोजन गरेको छ । पालिकाको नीति तथा कार्यक्रममा सामाजिक क्षेत्रलाई सबभन्दा बढी ४२ करोड विनियोजन गरिएको छ । जसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत विषयलाई प्राथमिकता दिइएको छ ।
पूर्वाधार विकासमा १७ करोड, प्रशासनिक खर्चमा १२ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड १६ लाख, आर्थिक विकासमा ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत् विकासमा ४ करोड ५४ लाख विनियोजन गरिएको छ । आन्तरिक स्रोतबाट ९ करोड ८ लाख संकलन गरिने लक्ष्य छ भने राजस्व बाँडफाँट, संघीय तथा प्रदेश सरकारबाट पनि संकलन गर्ने अपेक्षा गरिएको छ । पालिकाले असार २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।