हेटौंडा/हेटौंडा उपमहानगरपालिकाका ९ विद्यालयलक्षित गर्दै दिवाखाजाका लागि मेघा किचनँ सञ्चालनमा आएको छ । विद्यार्थीहरुको दिवाखाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका–६, १६, १७, १८ मा रहेका ९ विद्यालयमा अध्ययनरत् विद्यार्थीका लागि ‘मेघा किचनँ सञ्चालनमा ल्याइएको हो ।
चार वडाका विद्यालयलक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माविमा किचन सञ्चालन भइ खाजा वितरण हुने हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखाले जनाएको छ । संघीय सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा देशका सबै प्रदेशमा ‘मेघा किचनँ को व्यवस्थापन गरेपछि बागमती प्रदेशको हेटौंडाबाट खाजा वितरण अघि बढेको
हो ।
खाजा वितरणका लागि बालबोध मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको अध्यक्षतामा मेघा किचन व्यवस्थापन समिति गठन गरेर काम अघि बढाइएको शिक्षा महाशाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिए । किचनबाट बालबोधसहित वंशगोपाल, जनप्रिय, लक्ष्मी आधारभुत, ज्योति, गोरक्षेश्वर, कमला, दिव्यज्योति र राजदेवी माविमा खाजा जाने व्यवस्थापन समिति अध्यक्ष अर्यालले जानकारी दिए ।
संघीय सरकारबाट चैतमा खाजा व्यवस्थापनका लागि बजेट आए पनि आन्तरिक काम मिलाउने क्रममा भर्खरमात्र किचन सञ्चालनमा आएको महाशाखा प्रमुख कोइरालाले बताए । उनका अनुसार चार वडाका विद्यालयमा कक्षा–१० सम्म पढ्ने करिब ७ हजार विद्यार्थी खाजाबाट लाभान्वित हुनेछन् । किचनमा राष्ट्रिय मापदण्डअनुसार विद्यालय सञ्चालनको ६ दिन ६ प्रकारका खाजा बनाउने र वितरण हुनुपर्ने छ । किचन व्यवस्थापनले स्थानीय उत्पादनलाई प्राथमितामा राखेर खाजा वितरण गर्नसक्ने बताइएको छ ।
सञ्चालनमा आएको किचनको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया’, हेटौंडा–१८ का अध्यक्ष अनीलकुमार बानिया’, शिक्षा महाशाखा प्रमुख कोइरालाले अनुगमन तथा निरीक्षण गरेका छन् । किचन सञ्चालनका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ । अनुगमनपछि नगर प्रमुख लामाले विद्यार्थीको स्वास्थ्यलाई ध्यान राखेर खाजा व्यवस्थापन गर्न सुझाव दिइन् । स्थानीय तह हेटौंडाले मेघा किचन कार्यक्रम सञ्चालन गर्ने स्थान, खाजा उपलब्ध गराउने विद्यार्थीको संख्या, खाजा बनाउने जनशक्ति तथा ढुवानी व्यवस्था, स्थानीय, स्वच्छ र पोषणयुक्त खाजा बनाउने विधिप्रक्रियाको प्रतिबद्धता गरेको थियो ।
हाल सरकारले कक्षा–५ सम्मका बालबालिकालाई दिवाखाजा खुवाउन विद्यालयमा दैनिक १५ रुपियाँका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर, सरकारले उपलब्ध गराएको दिवाखाजाको रकम अपुग भएपछि हेटौंडाका केही विद्यालयले आन्तरिक स्रोतबाट विद्यार्थीलाई खाजाको व्यवस्था गर्दै आएका छन् । केहीले अभिभावकबाट सहयोग लिएर दिवाखाजा व्यवस्थापन गर्दै आएका छन् ।
सरकारी नीतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ७ प्रदेशको ७ पालिकामा मेघा किचेन सञ्चालन गर्ने योजनाअनुरुप हेटौंडाको सामुदायिक विद्यालयमा पनि सञ्चालनमा ल्याइएको हो । सात प्रदेशका स्थानीय तहमा एकएक भान्सा (मेघा किचेन) स्थापना गरिने तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा उल्लेख गरेका थिए । अर्थमन्त्री पुनले यस्तो कार्यक्रमले विद्यार्थी लाभान्वित हुने बताएका थिए ।
गत आवमा सरकारले दिवाखाजाका लागि ८ अर्ब रुपियाँ विनियोजन गरेको थियो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कक्षा–५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने गरी ८ अर्ब ३९ करोड रुपियाँ विनियोजन गरेको बताएका थिए । मेघा किचनका लागि ८९ करोड बजेट विनियोजन गरिएको थियो । कार्यविधि बनाउन नै १५ लाख बजेट विनियोजन गरिएको थियो । मेघा किचन कार्यान्वयनका लागि मापदण्ड बनाएर कार्यान्वयन गर्न १० लाख बजेट विनियोजन गरिएको थियो ।
मोरङको बिराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुखे‘तको वीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा पनि मेघा किचेन सञ्चालन हुनेछ । स्थानीय तहभित्रका सबै विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा एउटै खाजा बनाएर खुवाउने तरिकालाई मेघा किचन भनिएको छ । मेघा किचेन भनेको स्थानीय तहभित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो ।