हेटौंडा/शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल हेटौंडा–१५ को सहकार्यमा बकैया गाउँपालिका–६, जुइना खोलामा माछा भुरा हालिएको छ । वडा अध्यक्ष फुलमान भोम्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जुइना खोला तथा विभिन्न पोखरीमा माछा भुरा हालिएको हो । कार्यक्रम संयोजक जगदीश अधिकारका अनुसार जुइना खोलामा २० हजार, पोखरीहरुमा ३० हजार र बायो–फ्लक प्रविधिमा २ हजार १ सय माछा भुरा राखिएको छ । विगतमा पनि खोलामा ५ हजार र पोखरीमा १६ हजार भुरा हालिएको थियो ।
अध्यक्ष भोम्जनले माझी समुदायको परम्परा, सँस्कृति र जीविकोपार्जन संरक्षणका लागि यस्तो कार्य आवश्यक रहेको बताउँदै खोलामा विष हाल्ने, करेन्ट लगाएर माछा मार्ने जस्ता अवैध क्रियाकलाप रोक्न कानुनी कठोरता अपनाउनुपर्ने धारणा राखे । उनले जुइना खोलाको माछाले अतितमा दैनिक ६–७ सय घरधुरीको छाक टार्ने भूमिका खेलेको स्मरण गर्दै परम्परागत् माछा पालनलाई पुनर्जीवित गर्दै वडा–६ लाई पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे ।
संस्थाले पछिल्ला दुई वर्षदेखि कार्यक्रम सञ्चालन हुँदै आएको र वडा–३, ७, ८ र ९ मा पनि यस्ता कार्यक्रम विस्तार गरिएको जानकारी दिएको छ । कार्यक्रममा जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थिति थियो । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४, झुरझुरेस्थित वागमती नदीमा करिब २ वर्षअघि छाडिएको १ लाख माछाका भुराको हाल नामोनिशान छैन । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटांैडाले बागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा छाडेको थियो ।
पालिका अध्यक्ष सर्केश घलानले पालिकामा माछा मारेर जीविका चलाउने समुदाय रहेको भन्दै भविष्यमा यस कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताएका थिए । घलानले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतीय उपकरण प्रयोग र कलकारखानाबाट फालिएका विभिन्न रसायनले खोलामा माछाको संख्या घट्न पुगेको बताउँदै त्यस्तो कार्य सबै मिलेर रोक्नुपर्ने बताए ।
प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछा छाड्ने गरिएको छ । नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशय क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत् माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको जानकारी दिइएको छ । कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार भुरा छाडेको थियो भने मकवानपुरको सामरी नदीमा ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको वार्षिक कार्यक्रमका रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी, कर्णाली, सप्तकोशी, कालीगण्डकीलगायत नदीमा रहेको जानकारी गराइएको थियो ।
खोलामा माछाका प्रजातिहरु लोप हुने अवस्थामा गएपछि मकवानपुरको छतिवनस्थित सिमात र बकैया खोलामा ५० हजार स्थानीय जातका माछाका भुरा छाडिएका थिए । नदी र खोलामा पाइने स्थानीय प्रजातिका माछाको संरक्षण गरी माछा मारी जीविकोपार्जन गर्ने माझी, दनुवार राईजस्ता समुदायको आयआर्जनमा सघाउन मत्स्य विकास केन्द्र हेटौंडाले ५० हजार रहु र नैनी जातका माछाका भुरा खोलामा छाडेको थियो ।
स्थानीय जातको माछाको घरका रुपमा खोल्साखोल्सी, खोला र नदीलाई मान्ने गरिन्छ । खोलामा विषादि हाली माछा मार्ने, करेन्ट लगाउने र ब्लाष्ट गर्नेजस्ता अवैधढंगबाट माछा मारिँदा देशभर नदी र खोलाका माछाको अस्तित्व खतरामा छ । देशभर नै खोलामा विषादि हाली माछा मार्ने गलत प्रवृत्ति बढ्दा खोलाका माछाको अस्तित्व खतरामा पर्न थालेको र यसका कारण जाल हाली माछा मार्ने माझी र राई दनुवारजस्ता जातिको पेशासमेत संकटमा परेकाले स्थानीय जातको माछा संरक्षणको लागि भुरा छाडिँदै आएको छ ।
छतिवनको कर्मचुली र पावसमा गठित माछा संरक्षण समितिले खोलामा हालिएको उक्त माछाको संरक्षण गर्ने भनिए पनि त्यहाँ छाडिएका माछा तौल नपुग्दै सकिए । माछा हालिएपछि खोलामा विषादि प्रयोग गर्न र ब्लाष्ट गरी माछा मार्न नदिइने कर्मचुली माछा संरक्षण समितिले बताए पनि त्यसो हुन सकेन । खोलामा छाडिएका माछाका भुरा संरक्षणका लागि स्थानीय सचेत युवाले केही समय रातभर गस्ती गरी माछा जोगाउने प्रयास गरे पनि त्यो निष्प्रभावी बन्दा माछाका भुरा आधा किलोभन्दा बढी तौलका हुन सकेनन् । खोलामा कफ्र्यु लगाएजस्तै रातभर गस्ती गर्दा पनि भुराहरु हुर्किन सकेनन् ।
स्थानीय अँधेरी र जुइनालगायत क्षेत्रमा माछा मारेर बिक्री गरी परिवार पाल्दै आएका माझी समुदायको पेशा हाल धरासयी छ । स्थानीयले माछा संरक्षणमा चासो नदेखाउँदै विष हाल्ने, करेन्ट लगाएर मार्ने र बम पड्काएर मार्ने क्रम नरोकिएपछि ५० हजार भुरामध्ये अधिकांश आधा किलोभन्दा बढी तौल बनाउन नपाइ भान्सामा पुगेको गुनासो स्थानीय कुन्दन राईको छ । माछा संरक्षणका लागि गठित समिति सक्रिय नबन्दा विविध उपाय अपनाएर अवैध तरिकाले माछा मार्नेहरुको संख्या बढ्दै गएकाले माछा जोगाउन नसकिएको उनले बताए ।