हेटौंडा/संविधानसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछाने जनताले पार्टी र नेताको विचार नभइ व्यबहार बुझ्ने बताएका छन् । ३२ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा आयोजित ‘जनताको बहुदलीय जनवादः राष्ट्र निर्माणको आधार’ विषयक बहसमा लामिछानेले राजनीतिक दलहरुको विचार र व्यवहारमा एकरुपता नभएको बताए ।
दलहरुका नेता/कार्यकर्ताको खानपिन, उठबस, आनीबानी र समग्र व्यवहार हेर्दा सबै उस्तै देखिने भएकाले अबको पुस्ताले दलको विश्वास गर्न छोडेको उनले बताए । लामिछाने भन्छन्–जबजले शान्तिपूर्ण प्रतिष्पर्धालाई मात्र अंगीकार गर्दा वर्गसंघर्ष र वर्ग पक्षधरतालाई भुलेको हो कि ? ‘जबजअनुसार शक्ति पृथकीकरणमा विश्वास गर्ने पार्टीले किन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएको ?,’ लामिछानेले जिज्ञासा राखे ।
कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले जनताको बहुदलीय जनवादः राष्ट्र निर्माणको आधार विषयक कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमाथि डा. शंकर उपाध्याय, प्राध्यापक घनश्याम घिमिरे र हिदम लामाले टिप्पणी गरेका थिए । भण्डारी फाउन्डेसन अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर अध्यक्ष बुद्ध लामा, एमाले नेता रामेश्वर राना, केदार न्यौपाने, जिल्ला उपाध्यक्ष हिदम लामा, सीता बिष्ट, बोलबहादुर कार्की, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटालगायतको आतिथ्यता थियो ।