हेटौंडा/जुत्ताचप्पल व्यवसायी संघ मकवानपुरको चौथौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् संघ अध्यक्ष रामहरी तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख बानियाँले संघको गतिविधि उत्पादन र रोजगारकेन्द्रित हुनुपर्ने बताए ।
स्थानीय सरकार व्यवसायीहरुसँग सहकार्य गर्न तयार भएको उनले बताए । नगर उपप्रमुख बानियाँले व्यवसायीहरुलाई प्रत्यक्ष लाभ नहुने मेलामहोत्सवलाई उपमहानगरले कानुन बनाएर निस्तेज पार्नेसमेत जानकारी दिए । स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने मेलालाई मात्र अनुमति दिइने उनले बताए । नगर उपप्रमुख बानियाँले स्थानीय सरकार र उद्योग वाणिज्य संघको सम्बन्धमा चिसोपना आएको स्वीकारसमेत गरे । उनले अब आफूहरु व्यवसायीहरुसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा संघले पत्रकारतर्फ टिम टेलिभिजनका संवादताता कपिल खड्का र व्यवसायीतर्फ डीआर सुज कलेक्सनका प्रोप्राइटर लक्ष्मण शाहलाई सम्मान गरेको छ । अधिवेशनले पुनः तिमल्सिनाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत्रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल, उपाध्यक्षमा जनककुमार दास, महासचिवमा प्रह्लाद खनाल, सचिवमा मोहन उप्रेती र कोषाध्यक्षमा राजु लम्साल चयन भएका छन् ।
सदस्यहरुमा दधिराम गौतम, अर्जुन केशरी, रण दुलालसार्की, आशीषकुमार पराजुली, कृष्ण चौलागाईं, निशान गौतम र सलिम अन्सारी चुनिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष हुनेछ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्षहरु उज्ज्वल चौलागार्इं, राजु अधिकारी, चेम्बर अफ कमर्स मकवानपुर अध्यक्ष माधब न्यौपानेलगायतको आतिथ्यता थियो ।