हेटौंडा/मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनको खैरहनी नगरपालिका वडा नम्बर–९ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ निवासी ४१ वर्षीय ईश्वर बलामीको नाममा दर्ता भएको ना. ३ ख ७३२० नम्बर ट्रक बैशाख ३० गते हेटौंडा–११ स्थित ग्यारेजबाट चोरी भएको थियो । वडा नम्बर–३ निवासी ४६ वर्षीय हरिबहादुर डंगोलको मे. १ ख १४५७ नम्बर ट्रक बैशाख ३१ गते आफ्नै घरअगाडिबाट चोरी भएको थियो ।
पीडितहरुको उजुरीपछि खोजतलास गर्ने क्रममा दुवै ट्रक चितवनको खैरहनी नगरपालिका क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ । फेला परेका ट्रकहरु सम्बन्धित धनीहरुलाई कार्यालयमा बोलाइ सनाखतपछि शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि मनहरीबाट एकाएक हराएको ट्रक इलाका प्रहरी कार्यालय मनहरीले फेला पारेर सवारीधनीलाई हस्तान्तरण गरेको थियो । ना. ६ ख ३६६१ नम्बर ट्रकधनी चितवन जिल्ला आँपटारी घर भएका सन्तोष देबकोटालाई जिम्मा लगाइएको हो । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७, रमनटारमा रोकिराखेको बार्हचक्के ट्रक अज्ञात समूहले चोरी गरेको थियो । मनहरी बजार क्रस गरी हेटौंडातर्फ आएको सीसीटिभी फुटेजले देखाएपछि खोजीलाई तीव्रता दिइएको थियो । रोकिराखेको अवस्थाबाट चोरी गरी घरबाट झण्डै १३ किलोमिटर पर मनहरी–९, रजैया क्षेत्रमा सडकछेउमा रोकेर राखिएको अवस्थामा बेवारिस अवस्थामा इप्रका मनहरीको टोलीले ट्रक फेला पारेको हो ।
पोखराबाट राति १ बजे रड झारेर चालक सोमबहादुर थिङको घर आइपुगेको र गाडी पार्किङ गरी ब्याट्रीको तारसमेत छुट्याइराखेको अवस्थामा ट्रक चोरी भएको थियो । ट्रक रजैया आसपासमा पुग्दा ब्रेकमा समस्या देखिएर अगाडि नबढ्ने भएपछि चोरहरुले त्यसै छाडेका थिए ।