हेटौंडा/प्रदेश युवा परिषद् बागमतीको आयोजनामा हेटौंडामा आयोजित दुई दिने आवासीय महिला आत्मरक्षा प्रशिक्षक पुनर्ताजगी तालिम सम्पन्न भएको छ । बागमती प्रदेशका १३ जिल्लाका १३ विद्यालयबाट २६ महिला शिक्षकको सहभागिता थियो । तालिममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, आत्मरक्षाको सैद्धान्तिक महत्व, कानुनी प्रावधान, आत्मजागरण र हिंसा न्यूनीकरणका उपाय समेटिएको थियो । नेपाल सेल्फ डिफेन्स एसोसिएसन प्रशिक्षक सञ्जु महर्जन र प्रशिक्षक
विष्णु श्रेष्ठको विशेष आतिथ्यमा सञ्चालन गरिएको तालिममा प्रयोगात्मक अभ्याससमेत समावेश गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं थिए भने परिषद् सदस्य सुरज थापामगर (किरण) को सभाध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । परिषद् कार्यालय प्रमुख रमेश धिमिरे आतिथिका रुपमा सहभागी थिए भने परिषद्का कर्मचारी सुनील दुलालले कार्यक्रमबारे जानकारी दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष चौलागार्इंले भने–हाम्रो उद्धेश्य केवल प्रशिक्षण दिनुमात्र होइन, प्रशिक्षक तयार गर्नु हो । जसले समुदायमा व्यापक प्रभाव पार्न सकोस् । उनले चालु आर्थिक वर्षमा प्रदेशभर १३ जिल्लामा यस्तो तालिम सञ्चालन गरी २० हजारभन्दा बढी किशोरी, बालिका र महिलालाई आत्मरक्षा तालिम दिने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार यस प्रयासले विद्यालयदेखि स्थानीय तहसम्म महिलाको सुरक्षाबारे सचेतना र आत्मविश्वास अभिवृद्धि गर्नेछ । तालिममा सहभागी प्रशिक्षकहरुले आत्मरक्षा तालिमको प्रभावकारिता र आवश्यकताका विषयमा आफ्ना अनुभव साझा गरे । सहभागी एक महिला शिक्षक भन्छिन्–विद्यालयमा बालिकाहरुलाई आत्मरक्षा सिकाउन पाउनु केवल सिप हस्तान्तरणमात्र होइन, उनीहरुको मनोबल बढाउने र आत्मनिर्भर बनाउने अभियान हो । अर्की प्रशिक्षकको भनाइमा महिलाले आफैं प्रतिकार गर्नसक्ने क्षमताको विकास गर्नु आजको आवश्यकता हो । यस्तो तालिमले त्यो आत्मबल दिन्छ ।
तालिमका सहभागी प्रशिक्षकहरुले यस्ता तालिमलाई निरन्तरता दिँदै स्थानीय तहमा समेत कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिएका छन् । उनीहरुले प्रशिक्षकहरुको क्षमता अभिवृद्धिका लागि समयसमयमा पुनर्ताजगी तालिम आवश्यक रहेको भन्दै सरकारसँग दीर्घकालीन योजना र पूर्वाधार विकासको माग गरेका छन् । तालिमले महिलालाई आत्मरक्षा सिकाउनेमात्र होइन, उनीहरुलाई आत्मविश्वासी, सचेत र समाजमा नेतृत्वदायी भूमिकामा स्थापित गर्ने दिशातर्फ प्रदेश युवा परिषद् बागमतीको प्रयासलाई सार्थक बनाएको छ । यस्तो सरकारी पहलले युवा सशक्तीकरणको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।