रुपचुरीबाट धमिली गए पनि छाडेन गरिबीले
हेटौंडा/धमिलीका हरिप्रसाद प्रजा २०४० सालमा मकवानपुरबाट बसाइँ सरेर धमिली गएका हुन् । यहाँको रुपचुरीमा जीवन सहज नभएपछि चितवन झरेका प्रजाको परिवारले त्यहाँ पनि सुखको जीवन जिउन सकेनन् । ॅचितवनमा सुख होला भनेर बसाइँ सरेर आइयो,’ उनले भने–जहाँ गए पनि गरिबीले छाडेन । प्रजाले खोरियाको उब्जनीले मुस्किलले तीन महिनामात्र खान पुग्ने बताए । ॅछोराहरु लाखापाखा लागिसके,’उनले भने–हामी पतिपत्नी सरकारले दिएको भत्ताले जीवननिर्वाह गरिरहेका छौं । धमिलीमा यस वर्ष खडेरीले गर्दा मकै उम्रिएन । लामो समय पानी परेन,’उनले भने–बारिमा मकै उम्रेको छैन, यसपालि त्यही तीन महिना पनि खान नपुग्ने भयो ।
राप्ती नगरपालिका वडा–३, धमिलीकी तिरिमाया चेपाङको चुलोमा कहिल्यै मीठो–चोखो पाकेको उनलाई थाहा छैन । पाखो र भिरालो बारिमा उब्जिएको अन्नले मुस्किलले तीन महिनामात्र खान पुग्छ । तिरिमायाका पति मजदुरी गर्छन् । उनले कमाएर ल्याएको पैसाले विहान–बेलुकाको हातमुख जोर्ने गरेका छन् । ॅपतिले कमाएर ल्याउन सकेनन् भने भोकै सुत्ने हो,’ उनले भनिन्–केही भएन भने जंगलबाट गिठ्ठा खोजेर ल्याउँछौं । तिरिमायाको जस्तो समस्या धमिलीका अधिकांश चेपाङहरुले भोग्दै र झेल्दै आएका छन् । धमिलीमा मकै र कोदोमात्र उब्जनी हुन्छ । केहीलाई आफ्नो उब्जनीले एक महिना त कसैलाई तीन महिनासम्म मात्र खान पुग्छ । बाँकी नांै महिना त्यहाँका चेपाङ समुदायले अनिकालको सामना गर्दै आएका छन् । जाडो र सुक्खा मौसममा अनिकाल लाग्छ । धमिलीबासीले अझै पनि गिठ्ठा र भ्याकुर खान छाडेका छैनन् ।
पूर्वपश्चिम राजमार्गको राप्ती वडा–३, झुरझुरे चोकबाट करिब दुई किलोमिटर उत्तरतर्फ धमिली चेपाङ बस्ती छ । राजमार्गबाट नजिक भएका कारण सडक पुगे पनि सुन्दर डाँडामा अवस्थित धमिलीमा बसोबास गर्ने चेपाङ समुदायको दैनिकी भने अत्यन्त कष्टकर छ । दुःख काटेर आधा जीवन गइसक्यो,’ तिरिमायाले भनिन्–गाउँका कोहीको पनि जीवन सहज छैन । २०३९ सालमा धमिलीमा बस्ती बसेको हो । सुरुमा पाँचमात्र घर थिए ।
ओडारमा बस्दै आएका गौरु चेपाङले झुपडी बनाएपछि धमिलीमा बस्ती बसेको हो ।कार्तिकमा भिँयाएको कोदो सकियो,’ स्थानीय पातलीमाया प्रजाले भनिन्–भर्खर छरेको मकै उम्रिएन, अब के खाएर बााच्ने हो । पातलीमायाका पतिले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् । ॅघरमा अन्न छैन,’ उनले भनिन्–पतिले कमाएर नल्याएसम्म चुलोमा आगो बल्दैन । १ सय ५७ घरधुरी रहेको धमिलीमा हाल अनिकाल लागेको छ । अन्न किन्ने पैसा अभावका कारण त्यहाँका चेपाङ समुदाय भोकै सुत्न बाध्य छन् । बस्तीका अगुवा श्याम चेपाङले घरमा अन्न नभएका कारण धमिलीबासीहरुले भोकमरीको सामना गरिरहेको बताए । ॅपेटभरि खान नपाएर बालबालिकाहरु विद्यालय जान मान्दैनन्,’ उनले भने–कसैको घरमा अन्न छैन ।
अनिकालको सामना गरिरहेको धमिलीमा बालविवाह, नागरिकता नपाउने समस्या रहेको उनले बताए । स्थानीय सञ्चारकर्मी गोपाल बिश्वकर्माले राजमार्गबाट नजिक रहेको धमिलीबासीको जीवन सहज बनाउन तीन तहको सरकारले भूमिका खेल्न नसकेको बताए । धमिलीबासीले पाएको दुःख स्थानीय सरकार र सांसद्हरुलाई जानकारी हँदाहँदै पनि उनीहरुको जीवनस्तर उकास्न कसैले पहल नगरेको उनले बताए । नेपालमा चेपाङको जनसंख्या ८० हजारको हाराहारी छ । चितवनको पहाडी क्षेत्रमा बसोबास रहेका ३४ हजार चेपाङ छन् । गरिबीका कारण चितवनका ८० प्रतिशत्भन्दा बढी चेपाङ समुदायको जीवन सहज छैन । राज्यको बेवास्ता र आफूले कमाएको पैसाको बचत गर्ने बानीको विकास नहुँदा चेपाङ समुदाय गरिबीको रेखामुनि छन् ।