हेटौंडा/नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजारमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरणसभा आयोजना गरेको हो । सभा सुरु हुनुअगाडि हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो । हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गरी चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए ।
मुलुक फेरि पुरानो अवस्थामा फर्कन नसक्ने दाबी गर्दै उनले गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्रविरुद्ध एकजुट हुन आमलोकतन्त्रवादीलाई आग्रह गरे । केन्द्रीय सदस्य रानाले समृद्ध र सुखी नेपाल निर्माण, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत् विकासका लागि एकजुट हुनु आवश्यक रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरुको अराजकताले सीमा नाघेको बताए । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोखरेलले बताए । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो । गणतन्त्रमाथि भइरहेको प्रहारबारे जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौंडामा आयोजना गरेको जागरणसभाअन्तर्गत् मनहरीबाट हेटौंडासम्म मोटरसाइकल र्याली गरिएको छ । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल र्याली गरिएको हो ।