सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशमा मंगलबार नया“ सरकार गठन भयो । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानिया“को नेतृत्वमा सोही दिन ९ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरियो । सत्ता गठबन्धनमा एमालेको भागमा परेका ६ मन्त्रालयका लागि ६ जना मन्त्री नियुक्त भए । बा“की कांग्रेसका दुई मन्त्रीमात्र नियुक्त गरिँदा अब कांग्रेसले ५ मन्त्री नियुक्त गर्न बाँकी छ ।
एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुन पठाएका मन्त्रीहरु भने प्रायः उपत्यकाका छन् । एमालेबाट ६ मन्त्री नियुक्त भएकोमा ५ जना उपत्यकाका छन् भने वन तथा वातावरण मन्त्री भरत केसीमात्र उपत्यकाबाहेक हुन् । उनी दोलखा प्रदेश निर्वाचन क्षेत्र २ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
मंगलबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका डा. दिनेशचन्द्र देवकोटा काठामाडौंबाट समानुपातिक सांसद् हुन् भने उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त विन्दु श्रेष्ठ पनि काठमाडौंबाट समानुपातिक सांसद् हुन् । यीबाहेक श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा काठमाडौं प्रदेश निर्वाचन क्षेत्र २ (४) बाट निर्वाचित सांसद् हुन् । कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेल ललितपुरको प्रदेश निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित सांसद् हुन् भने पुनः दोहोरिएर स्वास्थ्य मन्त्री नियुक्त किरण थापामगर भक्तपुर १ (२) बाट निर्वाचित सांसद् हुन् ।
नेपालको राजनीतिक अभ्यासमा एउटा पुरानै प्रवृत्ति दोहोरिरहन्छ । शक्ति बा“डफा“ट उपत्यकामा सीमित हुन्छ, प्रतिनिधित्वको दायरा सानो रहन्छ । र, समावेशीताको नारालाई व्यवहारमा ल्याउने भन्दा देखावटी भाषणमा सीमित गरिन्छ । बागमती प्रदेश सरकारका हालैका मन्त्री नियुक्ति हेर्दा यो प्रवृत्ति यथावत् देखिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर । यी तीन जिल्ला बागमती प्रदेशका ॅशक्तिकेन्द्र’ बनिरहेका छन् ।
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभामा नेकपा एमाले २७ सिटसहित दोस्रो स्थानमा छ । जसमा १३ सांसद् प्रत्यक्ष निर्वाचित हुन् भने १४ जना समानुपातिक सांसद् हुन् । कुल २७ जनामा १५ जना त उपत्यकाका मात्र छन् । त्यसमा पनि ९ जना प्रत्यक्ष निर्वाचित हुन् भने बा“की ६ जना समानुपातिक सांसद् हुन् । प्रायः मन्त्री नियुक्त हु“दा उपत्यकाबाट निर्वाचित सांसद्हरुमाथि पार्टी शीर्ष तहका नेताहरुको नजर पर्ने भएर पनि हो कि प्रदेश सरकारको कार्यकालमा उपत्यकाका १० जना मन्त्री बनिसकेका छन् ।
यसअघि अमनकुमार मास्के, किरण थापामगर, प्रकाश श्रेष्ठ, प्रेमभक्त महर्जन, केशबप्रसाद पोखरेल मन्त्री बनिसकेका हुन् । यीबाहेक गत मंगलबारमात्र मधुसूदन पौडेल, जयराम थापा, विन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देबकोटा र किरण थापा दोस्रो पटक पनि मन्त्री नियुक्त भएका हुन् ।
यसरी हेर्ने हो भने एमालेबाट निर्वाचित उपत्यकाका १५ सांसद्मध्ये अब ४ जनामात्र मन्त्री बन्न बा“की छ । जसमा रघुनाथ महर्जन, सकुन्तला श्रेष्ठ, बालकुमारी बिश्वकर्मा र ज्ञानेन्द्र तामाङ छन् । यी ४ जनामध्ये रघुनाथमात्र प्रत्यक्ष निर्वाचित हुन् भने अन्य तीनजना समानुपातिक सांसद् हुन् । १५ मध्ये अप्सरा चापागाईं प्रदेशसभा उपसभामुख हुन् ।
तथ्यांक हेर्दा अवसर प्राप्त गर्नेमा पहिलो प्राथमिकता उपत्यकाका सांसद्हरुलाई दिइएको पाइन्छ । उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामध्ये धादिङ, नुवाकोट, रसुवा र काभ्रेमा एमाले सांसद्को संख्या शून्य छ । त्यसबाहेक रामेछापमा आनन्दकुमार श्रेष्ठ र मायाकुमारी कार्की गरी २ समानुपातिक सांसद् छन् भने दोलखामा भरतबहादुर केसी प्रत्यक्ष निर्वाचित हुन् भने उर्मिला सुनुवार र ठूला थामी समानुपातिक गरी ३ सांसद्को प्रतिनिधित्व छ ।
चितवनबाट कृष्णप्रसाद सिलवाल र एमाले बागमती संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलिया प्रत्यक्ष निर्वाचित सांसद् हुन् भने हरिप्रसाद सापकोटा समानुपातिक हुन् । चितवनमा एमालेबाट प्रदेशसभामा ३ जना सांसद् छन् । सिन्धुलीबाट एक जना समानुपातिक सांसद् सुकुमाया तामाङ, सिन्धुपाल्चोकबाट माइली तामाङ समानुपातिक निर्वाचित छन् भने मकवानपुरबाट निर्वाचित सांसद् एकालाल श्रेष्ठ प्रत्यक्ष निर्वाचित हुन् भने भारती पाठक समानुपातिक सांसद् हुन् ।
समग्रमा हेर्ने हो भने हालसम्म एमालेका ९ सांसद् मन्त्री बन्न बा“की छ । उपत्यकाका ४, दोलखाका २, चितवनका १, सिन्धुपाल्चोकका १ र मकवानपुरका १ सांसद् मन्त्री बन्न बा“की रहेको तथ्यांक छ । उपत्यकाबाहेक १० जिल्लाका सांसद्को संख्या कम भए पनि मन्त्री बन्ने अवसरमा भने उपत्यकाभित्रका तीन जिल्लाका सांसद्हरुले पाउने गरेका देखिन्छ ।
हरेक पटक मन्त्रिपरिषद् विस्तारमा एमालेको ९० प्रतिशत् भन्दा बढी उपत्यकाका सांसद् मन्त्री बन्दै आएको तथ्यांक छ । यसरी सरकारमा सहभागी हु“दा भुगोल नहेरी सांसद्को अनुहारमात्र हेर्दा विकास हुनुपर्ने ठाउ“मा विकास नपुग्ने राजनीतिज्ञहरु बताउ“छन् ।
सांसद् संख्या उपत्यकामा धेरै भएकै कारण यस्तो देखिएको एमाले बागमती संसदीय दलका नेता थपलिया बताउ“छन् । भुगोलभन्दा पनि सांसद्हरु सबैलाई पालोपालो अवसर दिइरहेका कारण कहिले कुन जिल्लाले कहिले पाउने भन्ने निश्चित नभएको थपलियाको भनाइ छ । ॅकाठमाडौं उपत्यकामा सांसद् संख्या नै धेरै छ, सिनियर माननीयज्युहरु पनि हुनुहुन्छ,’ उनले भने–यो पटक यस्तै भयो ।
समानुपातिक सांसद्लाई मन्त्री बनाउ“दा उपत्यकाकै पर्नुभयो । उपत्यकामा निर्वाचित पनि धेरै हुनुहुन्छ, समानुपातिक पनि सिनियर हुनुहुन्छ । त्यसकारण पनि भुगोल नमिलाएजस्तो देखिएको हो । आगामी दिनमा अब अन्य जिल्लालाई प्राथमिकतामा राखिन्छ । यसअघि सिन्धुली र चितवनलाई दिएका थियौं । यस पटक दोलखाले मन्त्री पाएको छ । अर्को पटक अरु जिल्लाका माननीयज्युहरुको पालो आउनेछ ।
एमालेभित्र समानुपातिक सांसद्लाई पनि उत्तिकै प्राथमिकतामा राखेर मन्त्री नियुक्त गरि“दै आएको दलका नेता थपलियाले बताए । प्रदेश सरकारको दोस्रो कार्यकालको हालसम्मको अवधिमा मन्त्री बनेकाहरुमध्ये तीन जना समानुपातिक सांसद् र एक जनालाई उपसभामुखको जिम्मेवारी दिइएको उनको भनाइ छ । थपलियाका अनुसार समानुपातिक सांसद् मन्त्री हुनेमा विन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देबकोटा र सुकुमाया तामाङ छन् भने चापागार्इं उपसभामुखको भूमिकामा छन् ।










