सुनिता बिष्ट
हेटौंडा/मंसिर १६ गतेका लागि तय भएको स्थानीय तह उपचुनावमा दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्ष उम्मेदवार टुङ्ग्याएको छ । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना दलको उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।
नेपाली कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगरशेर्पा र माओवादी केन्द्रबाट निमलेकी शेर्पाको नाम टुंगो लागेको हो । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको थियो । ३१ असार २०८० मा हृदयरोगका कारण उपाध्यक्ष तामाङको निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको गौरीशंखर गाउँपालिका उपाध्यक्षमा हुन लागेको उपचुनावमा तीन ठूला दलले आफ्ना उम्मेदवार टुंगो लगाएको हो ।
कांग्रेसबाट निर्वाचित तामाङको मृत्यु भएपछि नेपाली कांग्रेसले उनकी पत्नी पासदिकी शेर्पालाई उपाध्यक्ष उम्मेदवार बनाउन नाम सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको जनाएको छ । कांग्रेस दोलखाका सभापति बर्मा लामाका अनुसार गौरीशंकरको उपनिर्वाचनमा पासदिकीलाई उम्मेदवार बनाउने पालिका समितिबाट निणर्य भएका र सोहीअनुसार उनले निर्वाचनका गतिविधि अघि बढाएकी छन् ।
पालिका उपाध्यक्ष तामाङको निधन पछि कांग्रेसले उनकी पत्नीलाई उम्मेदवारका रुपमा अघि सार्ने निणर्य गरेको पार्टी सभापति लामाले बताए । विगत १५ वर्षदेखि कांग्रेस जिल्ला अधिवेशन प्रतिनिधि रहेकी पासदिकी हाल महिला संघको वागमती प्रदेश सदस्यसमेतको जिम्मेवारीमा छन् ।
नेकपा मााओवादी केन्द्रले निमलेकी शेर्पालाई अघि सारेको छ । कार्तिक ८ गते बिहीबार बसेको गाउँ पार्टी कमिटीको बैठकले उनको नाम सिफारिस गरेको हो । स्वास्थ्य स्वम्सेविकासमेत रहेकी निमलेकीले पनि आफ्नो चुनावी गतिविधि बढाएकी छन् । आफ्नो दलबाट उपाध्यक्ष उम्मेदवार बनेकी उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आफ्नै निवासमा बोलाएर जितको शुभकामना दिएको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इञ्चार्ज विशाल खड्काले जानकारी दिए ।
नेकपा एमालेले मंगलबारमात्र आफ्नो दलबाट उपाध्यक्षको नाम टुंग्याएको छ । एमालेबाट उमा मगरशेर्पा उपनिर्वाचनको चुनावी मैदानमा होमिने भएकी छन् । एमाले दोलखा कमिटीले उनको नाम सिफारिस गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा पहिलो पटक चुनावी मैदान होमिन लागेकी हुन् । उपाध्यक्षका लागि नेकपा एकीकृत समाजवादी (एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत आफ्नो दलको उम्मेदवार बनाउने बताएका छन् । तर, यी तीन शेर्पाबीच मुख्य चुनावी प्रतिस्र्धामा हुने निश्चित छ ।










