हेटौंडा÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौंडाका अधिकृत (छैटौं) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । सवारीसाधनको सरुवा सहमति बनाइदिने भन्दै सेवाग्राहीस“ग ११ हजार ५ सय घुस लिएको आरोपमा उनीहरुविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
यसअघि अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया पौडेलले सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र बिचौलिया पौडेलको आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको अख्तियारले जनाएको छ । आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय बिगो कायम गरी सोहीबराबर जरिवाना र कैद सजाय मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।










