राजुराम राउत
भनिन्छ लेखकहरुले खाली समस्या मात्र देखाउंछन् समाधान दिदैनन् । हो समाजमा देखिने समस्याहरु चाहे ठुला हुन वा साना, समाधानका लागि सबैका आँखा राज्यतर्फ फर्कन्छ मानौ राज्य एउटा धुपबत्ती । तर, राज्य भने मौन, लाग्छ आँखा कान बन्द गरेर चिर निन्द्रमा मन्त्रमुग्ध ध्यानमा मस्त । लेखकको काम त समस्या औंल्याउनु हो, समाधान दिने जिम्मा त राज्यको हो । नत्र किन सरकार बनाएको ? हरेक लेखमा समस्या उठाउने अनि समाधान पनि दिने लेखक त ‘आफैं बोक्स आफैं धामी’ हुन जान्छ ।
आउनुस् समस्याहरू देखाउं, समाधानको भारी राज्यकै थाप्लामा बिसाउं । हामीले दिने समाधानका उपाए यस्तै त हो ठुला । कुरो अलिक अगाडिको हो, काठमाडौका अधिकांस धारामा पिउने पानिका लागि जनताले बिहान चार बजेदेखि लाइन बस्नुपथर्थ्थो । धारामा पानी आउने कुरा त स्यालको सिङ देखने जस्तै दुर्लभ थियो । कतिजनाले त ‘खानेपानीको पाइपबाट पानी आउंछ’ भन्ने कुरा इतिहासमा मात्र पढेका थिए भन्थे । अब राज्यले जनताको घरघरमा चिठी पठाएर माफी माग्नुपर्छ, ‘प्रिय नागरिकहरु, तपाईंको घर आंगन र टोलमा भएको पानीको पाइप केवल सजावटका लागि मात्र हो । अब चाँडैनै हाम्रो सरकारले हेलिकप्टरबाट पानी झार्ने कार्यक्रम ल्याउने तयारी गर्दैछ ।
त्यसैगरी शहरमा ट्राफिक जाम छ, राज्यले ट्राफिकलाई स्वचालित बनाउने अभियान चलाउंदैछ । ट्राफिक प्रहरीलाई ‘ड्रोन’ सवार गरेर आकाशबाट ट्राफिक हेर्ने व्यवस्था मिलाउदैंछ । अनि, गाडी किन्ने सबैलाई ३० पृष्ठको ‘जाम व्यवस्थापन’ सिकाउने पाठ्यक्रममा समावेस गरेर जरैदेखि ट्राफिक जाम समस्याको समाधान गर्नेछ ।
स्वास्थ्य सेवामा त झन् हाम्रो सरकारले जादुमय बिकास गर्ने योजना अघि सारेको छ । हाम्रो सरकारी अस्पतालमा उपचार लिन जाने कुरा भनेको ‘भगवानले भेट्न बोलाएको’ जस्तो हो । बिरामीभन्दा फाराम भर्ने लाइन लामो हुन्छ तर औषधि छैन । डाक्टर भेट्नुअघि ३ दिनको छुट्टी लिएर जानुपर्ने स्थितिलाई अन्त्य हुनुपर्छ । राज्यले अस्पतालमा ‘दर्शन टिकट’ जस्तै ‘डाक्टर भेट टिकट’ सुरू गर्दछ । ५० रुपैयांको टिकटमा ३ घण्टामा पालो आउने ग्यारेन्टी छ । अनि औषधि अभाव भएमा, मन्त्रीलाई जनतासंग लाइन बस्न लगाएर स्थिति सुधार्न ‘अभिभारा हामी सबैको’ भन्ने नाराकासाथ स्वास्थ्य सुधारका कार्यक्रमहरु छिट्टै लागू गर्दैछ ।
शिक्षाको गुणस्तरमा लामै फड्को मार्ने योजना ‘विद्यालय शैक्षिक कार्यक्रम’ तयारी अवस्थामा छ । विद्यालयमा पढाइभन्दा परीक्षा टाउको दुःखाउने बिषय बन्यो । शिक्षकले पढाउनुभन्दा आफ्नो खेतको कामको योजना बनाउनु हुन्छ । विद्यार्थीको सपना सर्टिफिकेट लिएर विदेश जानु मात्र थियो । अब यो सरकारले विद्यालयको नारा ‘पढेर के गर्छौ ?’ बाट देश बनाउने शिक्षामा बदल्नुपर्छ । शिक्षकहरूले कम्तीमा १० जनालाई विदेश जान रोक्न सकेमा बोनसको व्यवस्था गर्नुपर्छ । परीक्षा प्रणालीलाई भाग्यको खेल जस्तो बनाउनुको सट्टा, विद्यार्थीलाई भविष्य बनाउन प्रेरणा दिने बनाउनु राज्यको जिम्मेवारी हो । त्यसैगरी समाजबाटै पुरानो दर्ज्यानी प्राप्त गरिबी यति पुरानो समस्या हो, मानौं यो हाम्रो देशकै जातीय चिन्ह हो । विज्ञापनमा ‘गरिब देशको धनी संस्कृति’ भनेर बेच्न सकिन्छ ।
अब राज्यले गरिबीलाई राष्ट्रिय सम्पत्ति घोषणा गर्नुपर्ने दिन नजिकिदै छ । अनि गरिबीको अनुसन्धान गर्ने आयोग खोल्नुपर्छ । सबै गरिबलाई पान नम्बर होईन क्युआर कोड लगाएर सरकारी कार्यालयले ‘दैनिक राहत वितरण’ गर्नुपर्ने नियम बनाउनु पर्छ । जस्ले बेरोजगारीको परिभाषा बदल्दै ‘काम छैन’ भन्नेहरू कफी सपमा ४ घण्टा बहस गर्छन् । मानौं, काम त राज्यको एउटा ढिक्को हो, जसलाई भा’डोमा राखेर बांढ्नुपर्छ भन्नेहरुलाई राज्यले ॅबेरोजगार प्रोत्साहन कोष’ स्थापना गरेर काम नपाएको प्रमाणित गरि भत्ता दिनुपर्ने व्यवस्था गर्नुपर्छ ।
अनि, मन्त्रीहरूसंग खाली समयमा ‘बेरोजगारसंग गफ’ कार्यक्रम सञ्चालन गर्नुपर्छ । भ्रष्टाचार हाम्रो देशको साझा सम्पत्ति हो । कतिजनाले त यसलाई नेपालीको जीवनशैली मान्छन्, परिवर्तन गर्नु हुदैन् । भ्रष्टाचारको सवालमा, राज्यले भ्रष्टाचारलाई नैतिक बनाउंदै एउटा ‘इमान्दार भ्रष्टाचार कोड’ लागू गर्नुपर्छ, जुन राष्ट्रिय परिचयपत्रको एउटा पाटो बनोस् । यसले भ्रष्टाचार गर्ने सबैलाई कर्पोरेट शैलीमा काम गर्न सिकाउनेछ अनि कानुनमै लेखिसकेपछि त कसरी गैरकानुनी हुन्छ ?
लेखकको काम समस्या औंल्याउनु हो, समाधान दिने जिम्मा राज्यको । लेखकका माथिका हरफहरुले समस्यको जडमै पुगेर उठान गरिसकेको छ, लिने कसरी भन्ने कुरा अधिकार प्राप्त अधिकारीको होला । किनभने लेखक आफैले समाधान दिन थाल्यो भने, ऊ सरकार हुन खोज्ने हो कि भन्ने भ्रम पनि उत्पन्न हुन सक्छ । राज्यले हरेक समस्यालाई गम्भीररूपमा लिने हो भने मात्र देशको भविष्य उज्यालो हुन
सक्छ । ‘राज्यले जानोस्, हामीलाई समस्या थाहा छ, अब समाधान तपाईंको हो ।’
ः समाप्त :