27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडायुवा स्वरोजगार बनाउने वडाको लक्ष्य

युवा स्वरोजगार बनाउने वडाको लक्ष्य

हेटौंडा/मनहरी गाउँपालिका—६ मा ‘सिप सिकौं–आत्मनिर्भर बनौं’ भन्ने नारासहित आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ । नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिका वडा नम्बर–६ वडा कार्यालय र सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

माघ २ गतेदेखि सञ्चालित तालिमको समापन समारोहमा प्रमुख अतिथि मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले कम्प्युटर र प्रविधि आधुनिक जीवनको अभिन्न अंग भएको बताउँदै कम्प्युटर तालिम आजको युगको आवश्यकता भएको बताए । उनले यसले व्यक्तिलाई व्यावसायिकरुपमा दक्ष बनाउनुका साथै व्यक्तिगत् जीवनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने बताए । प्रत्येक व्यक्तिले कम्प्युटर तालिम लिएर आफ्‌नो ज्ञान र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुपर्ने भन्दै उनले भने–समूहगत्‌रुपमा आउने सहभागीलाई कम्प्युटर र आर्थिक सहयोग गर्न पालिका तयार छ ।

मनहरी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष युवराज थपलियाले युवा सिपविकास वडाको पहिलो प्राथमिकता रहेको जनाउँदै सहभागीलाई सिकेको सिपलाई व्यावसायिक क्षेत्रमा उपयोग गर्न आग्रह गरे । उनले भने–कम्प्युटर सिप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनमा जुट्ने युवामा हुटहुटी छ । तालिमले जीवनमा सुधार ल्याउने आशा छ ।

गुडविल कम्प्युटरका प्रशिक्षकद्वय सुवास लामा (सजल) र देवेन्द्र दुलालले तालिमको सहजीकरण गरेका थिए । प्रशिक्षक लामाले उत्कृष्ट सहभागीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताए । सहभागी विपुल तामाङले ग्रामीण क्षेत्रमा तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यबाद दिँदै सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम संयोजक सन्देश थिङको सभाध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागीलाई प्रमाणपत्र वितरण गरिनुका साथै प्रशिक्षकलाई मायाको चिनो प्रदान गरियो । नमुना सामुदायिक विकास समिति सामाजिक परिचालक रुपक कालीराजका अनुसार सहभागीको तीव्र सिकाइ इच्छा र उत्साहले कार्यक्रमलाई सफल बनाएको छ । समितिले विभिन्न जिल्लामा यस्ता तालिम सञ्चालन गर्दै आएको र मनहरीका सहभागीको उत्साहले थप प्रेरणा मिलेको उनले बताए । समापन समारोहमा पालिका कार्यपालिका सदस्य, वडा सदस्यहरु, शिक्षक, समाजसेवी र स्थानीय बुद्धिजीवीको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here