हेटौंडा/थाहा नगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्टले बताएका छन् । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय भलिबल फाइनलपश्चात् विजेता टोलीलाई शुभकामना र बधाई दिँदै प्रमुख बिष्टले खेलकुद, अनुशासन र लगनशीलताको मुख्य आधार भएको बताए ।
प्रतियोगितामा साविक विजेता मंगलेश्वर युवा क्लबले आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-२ सेटमा पराजित गरी उपाधि चुमेको छ । बिहीबारदेखि सुरु भएको सातौं संस्करणको प्रतियोगितामा विजेता मंगलेश्वर युवा क्लबले नगद ५५ हजार पाँच सय पचपन्न, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले नगद २८ हजार आठ सय अठासी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मकवानपुर जिल्लाका १७ टिमको सहभागिता रहेको प्रतियोगिताका उत्कृष्ट खेलाडी बलराम सुबेदी, उत्कृष्ट ब्लकर सुजल कार्की, उत्कृष्ट स्पाइकर रमेश तामाङ, उत्कृष्ट प्रशिक्षक योगबहादुर सिन्तान, उत्कृष्ट सेटर उत्सव आलेमगर, उदीयमान खेलाडी किसन थापा घोषित भए । विधागत् उत्कृष्ट खेलाडीहरुले नगदसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता प्रतिष्ठान अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो ।










