29.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारम्तेल र राईलाई रेडियोको सामुदायिक सम्मान
spot_img

रम्तेल र राईलाई रेडियोको सामुदायिक सम्मान

spot_img

हेटौंडा/हर्नामाडी कला प्रतिष्ठान अध्यक्ष हर्क रम्तेल र हेटौंडाकी अग्रज महिला उद्यमी ताराकुमारी राईलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान प्रदान गरेको छ । रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा सहकारीको २८ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनमा रम्तेल र राईलाई जनही नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।

समुदायमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सामुदायिक सम्मान २०८२ प्रदान गरिएको हो । रम्तेलको अगुवाइमा गुम्बाडा“डा पार्क निर्माण हुनुका साथै हेटौंडा–१८, हर्नामाडीमा वैदिक संस्कृत गुरुकूलसमेत सञ्चालनमा छ । गुरुकूलमा दलित तथा गैरदलित बटुकहरुले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाबाट सुरु भएको गुम्बाडा“डा हाल मकवानपुरको चर्चित पर्यटकीयस्थलका रुपमा छ ।

- Advertisement - Ad Banner

सम्मानित राई साढे २ दशकदेखि सौन्दर्यकर्मीका रुपमा कार्यरत् छिन् । उनले हालसम्म ६ हजार महिलालाई ब्युटिसियन तालिम प्रदान गरिसकेकी छन् । धेरै महिलाहरु हाल पार्लर सञ्चालन गरी स्वरोजगार बनेका छन् । दुवै जनाले सामुदायिक रेडियो मकवानपुरले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै निरन्तर आफ्‌नो कर्ममा लाग्न मद्धत पुगेको धारणा राखे । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामा, रेडियो मकवानपुर अध्यक्ष आनन्दराम पराजुली र दिव्यतारा सहकारी अध्यक्ष लक्ष्मीदेवी श्रेष्ठले नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरेका हुन् ।

रेडियो मकवानपुरका वर्ष कर्मचारी सम्मानबाट रेडियोमा कार्यरत् प्राविधिक नवीन आलेमगर सम्मानित भएका छन् । उनलाई नगद ७ हजारसहित सम्मान गरिएको हो । रेडियोले वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मेयर लामाले लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेका नेपाल जस्ता देशका लागि सञ्चार पहिलो सर्त भएको उल्लेख गर्दै सञ्चारको महत्व असाधारण रहेको बताइन् । उनले सामुदायिक रेडियो सार्वजनिक हितका लागि गैरनाफामूलक उद्धेश्यसहित सञ्चालन हुने भएकाले यसको आवश्यकता अझ बढ्दै गएको धारणा राखिन् । पछिल्ला वर्षहरुमा देखिएको आर्थिक मन्दीका कारण सामुदायिक रेडियोहरु पनि प्रभावित भएको र कतिपय रेडियो बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।

सामान्यतयाः हेर्दा निजी र सामुदायिक रेडियो उस्तै देखिए पनि सामग्री प्रस्तुति र समाजप्रतिको उत्तरदायित्वमा सामुदायिक रेडियो फरक रहेको मेयर लामाको भनाइ थियो । रेडियोको प्रभावकारिता इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै विश्व युद्धहरु, नेपालका २००७ सालको जनक्रान्ति तथा माओवादी जनयुद्धमा रेडियो प्रयोग भएको उदाहरण दिइन् । उनले युद्धमा मात्र नभइ ठूला प्राकृतिक विपद्हरुमा पनि रेडियो प्रभावकारी माध्यम बनेको बताइन् ।

कार्यक्रमको वाषिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् भएको मिडिया कप फुटसल प्रतियोगिता विजेता टिम टेलिभिजन र उपविजेता नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् रक्तदान, संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण, मिडिया कप फुटसल प्रतियोगिता, सञ्चारिका समूहलाई सेनेटरी प्याड वितरण तथा निर्वाचन आचारसंहितासम्बन्धि अन्तर संवादलगायत कार्यक्रम आयोजना गरिएका थिए ।

दिव्यतारा बहुउद्धेश्यीय सहकारी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको सभाध्यक्षतमा कार्यक्रम भएको हो । उनले रेडियो मकवानपुर मकवानपुर जिल्लाको दुर्गमदेखि सुगम क्षेत्रसम्मको आवाज बनेको दाबी गरिन् । मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला बहुउद्धेश्यीय सहकारी संघ मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायण देबकोटा, हेटौंडा–८ नम्बर वडा अध्यक्ष राम थापा, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि