हेटौंडा/पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । पालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।
सोमबार एघारौं गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत गरेको बजेट चालु आवको भन्दा १ करोड ८७ लाख ४९ हजार कम हो । बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजार बजेट प्रस्तुत गरेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६ सय ६२ रुपिया’, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २१ करोड ३० लाख २५ हजार ३ सय ३७ रुपियाँ रहने प्रक्षेपण गरिएको छ ।
विनियोजित बजेटमध्ये पुँजीगत् खर्चतर्फ २८ करोड ६ लाख ९१ हजार, चालुतर्फ ६३ करोड ६५ लाख ५९ हजार बजेट बिनियोजन गरिएको छ । नेपाल सरकारबाट सशर्त अनुदान ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ९५ लाख ५० हजारसहित ३९ करोड ६३ लाख ५० हजार प्राप्त रकमलाई खर्च गरिने उल्लेख छ ।
पूर्वाधार निर्माण गर्न ५ करोड, पोषणमैत्री स्थानीयतह घोषणा गर्न ७५ लाख, चिस्यान केन्द्र निर्माण गर्न ६५ लाख, हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडामा ४० लाखका दरले ४ करोड ८० लाख तथा कार्यपालिका सदस्यलाई ८ लाखका दरले ४८ लाखसहित ५ करोड २८ लाख बजेट बिनियोजन गरिएको छ । कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, कृषि औद्योगिक ग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, कोल्डस्टोर निर्माण अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ ।
पालिकाले ल्याएको बजेटमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको हो । गाउँसभामा पालिका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायतको उपस्थिति थियो ।
सभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा उपभोक्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । पालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट उपभोक्ता समितिका रुपमा बकैया–१ को कत्लेखोला कल्भर्ट निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायीमा बीएण्ड बी कन्स्ट्रक्सन, करदातामा कुमार रोशन सिचुआन जेभी, गैरसरकारी संस्थातर्फ एस्थर बेञ्जामिन संस्था तथा उत्कृष्ट रोजगारदाता शिवपुरी फ्रेस डेरीलाई सम्मान गरिएको छ ।
उत्कृष्ट कर्मचारीतर्फ बकैया–६ मा रहेको जुइना आधारभुत स्वास्थ्य केन्द्र कार्यालय सहयोगी शान्ति पाख्रिन, ११ वडा कार्यालय सहयोगी शेरमान गोले, हात्तीसँुडे आधारभुत स्वास्थ्य केन्द्र एम्बुलेन्सचालक चन्द्रबहादुर भ्लोनलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।
शिक्षातर्फ उत्कृष्ट शैक्षिक शिक्षण गर्ने बकैया–५ किसान जागरुक सिद्धार्थ प्राविका शिक्षक सम्झना रुम्बा, कक्षा–८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–७ स्थित माटोकोरी आविका प्रअ शिवप्रसाद बोलखे, एसईई र कक्षा–८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–९ बाघभैरव माविका रमेशकुमार लामालाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।
सिमात आधारभुत स्वास्थ्य केन्द्रमा निरन्तर विवादरहित सेवा खोप तथा गाउँघर क्लिनिकलाई प्राथमिकतामा राखी कार्य गर्ने बिनाकुमारी स्यांतान, पशुविकास सेवातर्फ रामकृष्ण तिमल्सिना, कृषिविकास सेवातर्फ भावना अधिकारी, प्राविधिक कर्मचारीतर्फ मोहम्मद मेराज आलम, वडा सचिवतर्फ युवराज ठाडामगरलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । सर्वोत्कृट कर्मचारीतर्फ सहायक प्रहरी निरीक्षक प्रमोद थापालाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।










