हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडामा लागुऔषध नियन्त्रणसम्बन्धि सचेतनामूलक कार्यक्रम भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले लागुऔषध नियन्त्रणका लागि अब स्थानीय सरकारले समेत लगानी गरेर काम गर्ने बताइन् । लागुऔषध नियन्त्रण थुनेरमात्र सम्भव नहुने उल्लेख गर्दै उनले सबै क्षेत्रबाट सचेतना फैलाएर यसको न्यूनीकरण गर्न सकिने बताइन् । लागुऔषधका कारण हेटौंडामा ठूलो चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई नियन्त्रण गर्नु आजको आवश्यकता भएको धारणा राखिन् ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागुऔषधका कारण हेटौंडाको अवस्था भयावह बन्दै गएको बताए । लागुऔषध नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय हुनुपर्नेमा जोड दिंदै उनले लागुऔषधका कारण जिल्लामा अन्य आपराधका घटनासमेत तीव्ररुपमा बढ्दै गएको बताए । हेटौंडा लागुऔषध ओसारपसारको ट्राञ्जिट बन्दै गएकोतर्फ उनले ध्यानाकर्षण गराए ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले लागुऔषधसहित पक्राउ गर्ने कार्य निरन्तर भइरहेको जानकारी दिए । अबका दिनमा यसको न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गरेमात्र सफलता हासिल गर्न सकिने उनको भनाइ थियो । लागुऔषध नियन्त्रणका कार्यमा मकवानपुर जिल्ला प्रहरीलाई प्रदेश प्रहरी कार्यालयको सक्दो सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईंले लागुऔषध नियन्त्रणका लागि स्थानीय सरकारले टोलटोलमा संयन्त्र निर्माण गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । सडक निर्माणलाई मात्र विकास नठान्न आग्रह गर्दै उनले लागुऔषधका कारण समाज भयावह बन्दै गएकोले यसको नियन्त्रणमा स्थानीय सरकारले प्राथमिकतासाथ लगानी गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले लागुऔषधका कारण मकवानपुर जिल्लामा भइरहेका अपराधसम्बन्धि तथ्यांक प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष सबिन न्यौपाने, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, विद्यालयका शिक्षकहरु, यातायात व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस









