हेटौंडा/अर्जुन तिम्सिना स्नातक तहमा आर्किटेक पढ्दै गरेका आठौं सेमेस्टरका विद्यार्थी हुन् । आफ्ना २३ जना साथीसहित परुइ खोलामा भेटिएका अर्जुनले सुनाए–घर भनेको ठ्याक्क बस्नेमात्र, घामपानी छेक्नेमात्र नभइ रीतिरिवाज स“स्कृति सबै झल्कने हुनुपर्छ । घरप्रति भावना जोडिनु पर्छ । भावना नजोडिए घरमा कोही बस्दैन । आर्थिक उपार्जनको अवसर पनि त्यहा“ हुनु पर्यो ।
भावना पनि जोडियो आर्थिक उपार्जनका उपाए पनि भए । यी दुई कुराले मान्छे घरमा सुखीसाथ बस्न सक्ने अर्जुनले बताए । त्यसैले १० जना छात्रासहित इञ्जिनियरिङ पढ्दै गरेकाहरु समूह बनाएर स्थानीयस“ग घरघरमा पुगेर अन्तर्वार्ता गर्दैछन् । बागमती प्रदेश सरकारले चेपाङ समुदायका लागि एकीकृत नमुना बस्ती बनाउन बजेट दिने भएपछि ती घरमा बस्नेहरु कसरी रमाउ“छन् भन्ने उपाए खोज्ने जिम्मा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीले लिएका हुन् । माडी नगरपालिका–८, परुइ खोलाछेऊका ५७ घरमध्ये ५० घर चेपाङ समुदायका छन् । खोलाको बाढी र नजिक जंगलका जनावरको डर बिर्सेर उनीहरु सात वर्षदेखि यही बस्न बाध्य छन् । उनीहरुको कथा, व्यथा र चाहना बुझ्न व्यस्त छन्, त्रिभुवन विश्वविद्यालय इञ्जिनिरिङ अध्ययन संस्थान पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत् विद्यार्थी ।
परुइ खोलामा आउनुअघि त्यहा“का बासिन्दा कुसुमखोला भन्ने ठाउ“मा बस्थे । जुन ठाउ“ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ । ॅअवैध बस्ती हो, यहा“ बस्न पाइ“दैन भन्दै बर्सेनी निकुञ्जले पत्र पठाउन थाल्यो । बाढी आएर पनि ठूलो क्षति गर्यो । त्यसैले त्यहा“ नबस्ने भनेर हामी लाखापाखा लाग्यौं । कोही कता, कोही कता भए । हामी यहा“ आयौं,’ परुइ खोलामा बस्दै आएका कमल चेपाङले सुनाए ।
कुसुमखोलामा १ सय ६० घर थिए । त्यहा“बाट निस्केर कोही प्याउली, कोही शिवद्वार, कोही राईडा“डा बसे । ५७ घर परुइ खोला आडमा आए । सुरुमा खोलानजिक गएर बसेका थिए । दुई वर्षपछि खोला आडमा तटबन्ध बनाएर बस्ती अलि वर ल्याएको कमलले बताए । खोलाबाट केही सुरक्षित भए पनि बाढीको डर कायम रहेको उनले बताए ।
बस्तीमा बिजुली बलेको दुई वर्ष भयो । सुरुमा खोलाबाट पानी खाने गरेका थिए । हाल बस्तीमा खानेपानीका १२ वटा धारा र २ वटा ट्युबवेल छन् । तर, पक्की शौचालय अभाव छ । पा“च वटा घरमा इ“ट्टा वा ब्लकको गाह्रो भए पनि अरु घरहरु प्रायः काठले बारेका छन् । हावाहुरी र जाडोको समयमा यस्ता घरमा बस्न गाह्रै हुन्छ । यो बेला सिरेटो छिरेर सुत्न गाह्रो हुने गरेको स्थानीय अञ्जली चेपाङले सुनाइन् । धादिङ स्यादुलनजिक घर थियो कमलको । गाउ“मा पनि राम्रो खेतबारि थिएन । पाखो बारि थियो । २०५९ मा आएको बाढीपहिरोले पाखोबारि पनि बा“की राखेन । बस्ने ठाउ“ खोज्दै जंगलभित्र रहेको कुसुमखोला पुगेको कमलले सुनाए ।
२०६१ सालदेखि लगभग १५ वर्ष कमलले त्यहा“ बिताए । तर, कुसुमखोलामा चितवन निकुञ्जले बस्न नदिने भएपछि नगरपालिकाको पहलमा बस्ती सार्ने काम भयो । राईडा“डामा नमुना बस्ती नै तयार भयो । परुइमा सामान्य पूर्वाधारहरुको पनि अभाव थियो । ॅहाल बिजुली, पानीको व्यवस्था भएको छ । अरु काम हु“दैछन् । बस्ती पनि बन्दै छ,’ माडी–८ की वडा अध्यक्ष चन्द्रकुमारी बानिया“ले भनिन् ।
त्यहा“ बस्नेहरुको आफैंले राम्रो आर्जन गर्नसक्ने कुनै राम्रो उपाय छैन । कसैले अधिया“ वा ठेक्कामा खेत कमाएका छन् । तर, उब्जनी राम्रो छैन । निमेक मजदुरी नै गर्नेहरु धेरै छन् । ॅकमाइ नभएपछि राम्रो घर कसरी बनाउन सक्नु,’ कमलले भने । त्यसैले बस्ती निर्माणका लागि स्थानीय र प्रदेश सरकारसमक्ष पटकपटक आग्रह गर्दै आएको उनले बताए ।
तर, परुइका लागिमात्र भनेर कार्यक्रम आएन । माडीभर बजेट बा“डेर काम गर्दा परुइमा हालसम्म जम्मा पा“च वटा अलि सुरक्षित घर बने । अरु कच्ची नै रहे । नेपाल चेपाङ संघ केन्द्रीय अध्यक्ष गोबिन्दराम चेपाङ यस पटक परुइलाई नै भनेर बस्ती निर्माणको योजना परेको हु“दा ढुक्क हुन आग्रह गर्छन् । ॅमुख्य कुरा यहा“को जग्गाको लालपुर्जा छैन । पहिला त भूमि आयोगका मान्छेले खोला उकासको जग्गा नापजा“च हु“दैन भनेका थिए । पछि नापी त भयो । अरु काम असोजबाट हुन्छ भनेका थिए । आयोग बीचमा विघटन भएपछि अन्यौल नै छ,’ कमलले आशंका व्यक्त गरे ।
चेपाङ संघ अध्यक्ष गोबिन्दरामले उक्त पटक बस्ती बनाउने काम पूरा गरेर छाड्नेमा आफू लागिपर्ने प्रतिबद्धता दोहोर्याए । बागमती प्रदेशको सहरी विकास तथा भवन कार्यालय मकवानपुर डिभिजनका इञ्जिनियर अभिषेक बुढाथोकीले नमुना बस्तीमा बन्ने एउटा घरका लागि बढीमा चार लाख भुक्तानी हुने बताए ।
परुइ खोलामा घर बनाउने भएपछि त्यहा“ बस्दै आएका स्थानीयको रहनसहन दैनिकी अध्ययन गरी सुहाउ“दो घरको नक्सा तयार गर्न विद्यार्थीहरु खटेको उनले बताए । ॅहामीले आर्टिकलहरु पढ्दा के थाहा पायौं भन्दा चेपाङहरुलाई भनेर सरकारले बस्ती र घर बनाए पनि उहा“हरु त्यहा“ बस्नु हु“दो रहेनछ । घर त बनाइयो तर घरस“ग कसरी जोड्ने ? उहा“हरुले यसअघि कसरी कुन वातावरणमा बस्नु भएको थियो, त्यो ख्याल राखेर घर र बस्तीको डिजाइन गर्नुपर्छ,’ विद्यार्थी अर्जुन तिम्सिनाले भने ।
चिउरीको रुख र चेपाङबीच घनिष्ट सम्बन्ध रहेको भन्ने सुनेका उनले हावापानी र भुगोलले मिल्ने हो भने खोलाछेऊमा चिउरी रोप्न सुझाव दिने बताए । कोही विहान काममा जाने, कोही दिउ“सो काममा जानेहरु बस्ने बस्ती भएका कारण पूर्वाधारहरु त्यहीअनुसार राख्ने उनले बताए । बृद्धबृद्धा र केटाकेटी रमाउने ठाउ“हरु बस्तीमा हुनेछन् । ॅकसैले भैंसी पाल्छु भने यसका लागि त्यहीअनुरुप घर बनाउनुपर्छ । गोबर कहा“ कसरी राख्नेदेखि दूध बिक्रीको सम्भावना छ कि छैन त्यो पनि विश्लेषण गर्नुपर्ने हुन्छ । हामी यी सबै हिसाब गरेर घर र बस्तीको डिजाइन तयार गर्नेछौं,’ अर्जुनले भने ।









