हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिकामा पहिलो पटक पालिकास्तरीय शैक्षिक प्रदर्शनी गरिएको छ । बुधबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयमा प्रदर्शनी आयोजना गरिएको हो । पालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।
वडाकी कार्यबाहक अध्यक्ष राममाया प्रजाको सभाध्यक्षता रहेको कार्यक्रममा पालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले विद्यार्थीहरुको सिकाइ प्रदर्शनीले विद्यार्थीमा नया“ सिकाइ र ज्ञान बढ्ने बताए । विद्यार्थीले तयार पारेका सामग्रीहरुमा परम्परागत् सामान, हस्तकलाका सामान, मेसिन/औजार, विज्ञानका विभिन्न जानकारीमूलक सामग्रीले एकापसमा सिकाइ र अनुभव साटासाट हुने उनले बताए । नीति तथा कार्यक्रममा समेट्दै कार्यक्रम राखिएकाले आगामी दिनहरुमा पनि थप ऊर्जासाथ कार्यक्रम गरिने प्रतिवद्धता उनले व्यक्त गरे ।
प्रदर्शनीमा सरस्वती आधारभुत विद्यालय कैलाश–२ प्रथम भएको छ भने कालिका मावि कैलाश–९ द्वितीय र कमलादेवी मावि कैलाश–२ तृतीय भएका छन् । पुरस्कृत विद्यालयले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आधारभुत तह र माध्यामिक तह सञ्चालित विद्यालयहरुका विद्यार्थीको अन्तर्निहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाइ आदानप्रदान गर्ने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख समीर जोशीले बताए । प्रदर्शनीमा विद्यार्थीले तयार गरेका सामग्रीहरुको मूल्यांकनका आधारमा उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको उनले बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख जोशी, विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मूल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, इञ्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्लठकुरी, स्रोतशिक्षक ध्रुवराज बिष्टलगायतको आतिथ्यता थियो ।









