हेटौंडा/शनिबार सडक डिभिजन हेटौंडाले राष्ट्रिय राजमार्ग सीमा सुरक्षा कार्यक्रम, २०८२ अनुसार अतिक्रमित सडकसीमाबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन सुरु गर्यो । सुरुवाती दिनमै ५ सय बढी संरचनाहरुमा डोजर चलाएको सडक डिभिजनको काम आइतबारबाट रोकियो । रास्वपाकी पूर्वसांसद् विन्दबासिनी कंसाकारले राष्ट्रिय राजमार्ग सीमा सुरक्षा कार्यक्रमविरुद्ध सर्वोच्चमा दर्ता गरेको रिट निवेदनका आधारमा सर्वोच्चले काम रोक्न स्टेअर्डर जारी गर्यो ।
जसका कारण भत्काउन सुरु गरिएका घरटहराहरु यत्तिकै अस्तव्यस्त भएका छन् । सडक विस्तारका क्रममा घरटहरा भत्किए पनि हेटौंडा राप्तिरोडका व्यापारीहरु भग्नावशेषमै बसेर व्यापार गरिरहेका छन् । भत्किएका संरचना, असरल्ल भएका ईंटा, ढुंगा, काठ र बिजुलीका तारहरुकै थुप्रोमाथि पुरानै सटरअगाडि व्यवसाय सुरु गरिएका हुन् ।
।
सडक विस्तारविरुद्ध सर्वोच्चको स्टेअर्डर तामेल भएपछि २६ गतेसम्मका लागि सडक विस्तार कार्य रोकिएको छ । उक्त दिनको छलफलपछिमात्र बा“की संरचना भत्काउने/नभत्काउने र यसअघि भत्काइएका जोखिमयुक्त संरचना पन्छाउन सुरु गरिनेछ । अस्तव्यस्तताबीच व्यवसायीहरु भने जोखिम मोलेर व्यापार गरिरहेका छन् । घरपसल भत्किए पनि बैंकको व्याज तिर्नका लागि बाध्यताले जोखिम मोलेर व्यापार गर्नुपरिरहेको व्यवसायीहरु बताउ“छन् । उनीहरुले कपडा, जुत्ताचप्पल, व्यागदेखि अन्य दैनिक उपभोग्य बस्तुहरु सडकमै फि“जाएर व्यापार सुरु गरेका हुन् ।
हेटौंडा–१०, राप्तीरोडका रामआशीष दास आफ्नो र भत्किएपछि घरकै सटरमा राखेको कपडाहरु भत्किएकै सटरबाट बिक्री गरिरहेका छन् । २०३६ सालमा घर किनेर व्यवसाय सुरु गरेका उनी घरबारविहीन भएपछि आफू सडकमा ओर्लिएर व्यापार गर्नुपरेको उनको गुनासो छ । पसलमा राखिएको सामान बेचेर भए पनि बैंकको ऋण तिर्नका लागि भत्किएकै संरचनामा पसल राखेको उनले बताए । उनले बर्षौंदेखि सोही स्थानमा कपडा बिक्री गर्दै आएका हुन् । बुद्धचोकमा जुत्ता पसल राख्दै आएकी सारजा खातुन आफू बस्ने डेरादेखि पसलसम्ममा डोजर चलेको बताउ“छिन् । रातारात डोजर चलाएर सरकारले आफूहरुलाई सडकमा ल्याएको गुनासो गर्दै उनले भनिन्–शनिबार सबै कार्यालय बन्द हुन्छ । जिल्ला प्रशासनदेखि कुनै कार्यालयले शनिबार काम गर्दैन । तर, अरुको घर भत्काउन डोजर चाहिं शनिबार पनि चल्ने रहेछ । यही एउटा पसलले परिवार पालिएको थियो । सबै उजाड बनाइदियो ।
आफूले २०८३ सालसम्मको कर तिरिसकेको उनले बताइन् । ॅघरको भाडा पनि अग्रिम बुझाउनुपर्छ,’ उनले थपिन्–नगरपालिकामा पनि कर बुझाइरहेका छौं । राजस्वमा पनि कर बुझाइसक्यौं । यता पसल नै भत्किएर बन्द हुने भयो । अव्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुका लागि मकवानपुर उद्योग वाािणज्य संघले जोखिम मोलेर व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ । व्यवसायीहरुका लागि ठाउ“ अभाव भए संघको सचिवालयमा निवेदन दिन सकिने व्यवस्था मिलाइएको र सोही निवेदनका आधारमा उचित स्थानमा सटरहरु खोज्न उद्योग वाणिज्य संघले सहजीकरण गर्ने मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाट बताउ“छन् ।
संरचनाहरू भत्काइएर सुरक्षा चुनौती बढेपछि हेटौंडा उपमहानगरपालिकाले नगर प्रहरीलाई व्यापकरुपमा फिल्डमा खटाएको छ । नगर प्रहरीले सडकपेटीमा अनियमितरुपमा राखिएका पसल र सामान हटाउन लगातार दबाब दि“दै आएको छ । तर, व्यापारीले बारम्बार अटेर गरेपछि सुरक्षाको जोखिम बढेको भन्दै उपमहानगरपालिकाले अब सडकपेटीमा राखिएका सामग्री जफत गर्ने तयारीसमेत थालेको हेटौंडा उपमहानगरपालिका प्रवक्ता सबिन न्यौपाने बताउ“छन् ।
रास्वपाकी पूर्वसांसद् विन्दबासिनी कंसाकारले मंसिर १६ गते दायर गरेको रिटमाथि शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार कार्यमा तत्काल रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतले मंसिर २६ गते अन्तरिम आदेशसम्बन्धि विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ । अदालतको आदेशले भत्काइएका संरचना हटाएर सडक सफा गर्ने कार्यदेखि बा“की संरचना हटाउने प्रक्रियासम्म रोकिएपछि हेटौंडा बजार क्षेत्रमा आवतजावत नै जोखिमपूर्ण बनेको छ ।









