हेटौंडा/हेटांैडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको विद्यार्थीहरुद्वारा अवलोकन गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ नेचुरल म्यानेजमेन्टका विद्यार्थीहरुले रानी वनको अवलोकन गरेका हुन् ।
रानी सामुदायिक वन अध्यक्ष केशब धिताल, सदस्य पूर्णभद्र चौलागार्इं, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु हरिचन्द्र सापकोटालगायतले समूहले गरेका विभिन्न कार्यहरुबारे जानकारी गराएका थिए । सहभागीहरुलाई वन संरक्षण, सम्वद्र्धन, संस्थागत् विकास, महिला सहभागिता, आयआर्जन, गैह्रकाष्ठ वनपैदावार, सालक संरक्षण, पर्यापर्यटन, सामाजिक कार्य, समूहले प्राप्त गरेका पुरस्कारलगायतबारे जानकारी गराइएको थियो ।
डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गौतमले रानी सामुदायिक वनले वनक्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । उक्त विश्वविद्यालयका उपप्राध्यापक हेमचन्द्र जोशीको नेतृत्वमा आएको भ्रमण दलमा विश्वविद्यालयका जयराज जोशी, विद्यार्थीलगायतको सहभागिता थियो । हालसम्म उक्त समूहको ५ सय ७९ वटा भ्रमण टोलीले अवलोकन गरिसकेको समूहले जनाएको छ ।









