हेटौंडा/लामो समयदेखि सूचना प्रकाशनमा मात्र सीमित हु“दै आएको हेटौंडाको सडक विस्तार यसपटक भने अघि बढ्ने भएको छ । सडक बिस्तार कार्यलाई अगाडि बढाउन बुधबार गठन गरिएको विशेष टास्क टिमले कार्य प्रारम्भ गरेको हो । सर्वोच्च अदालतको फैसलाले सडक विस्तारका लागि कानुनी मार्ग खुला गरिदिएकाले यसपटक सूचनामात्र नभइ कार्यान्वयन हु“दै सडक विस्तार अनिवार्यरुपमा सुरु हुने जनाइएको छ । हेटौंडाको सडक विस्तार क्षेत्रमा हाल ५ सय ३० भन्दा बढी घरटहरा पर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
टास्क फोर्सले बुधबारबाट माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरिएको छ । कार्यालयले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट मार्किङको काम सुरु गरेको हो । यसअघि डिभिजन सडक हेटौंडाले ५ मंसिरमा १५ दिने सूचना जारी गरेको थियोे । जसको अवधि यही १९ मंसिरमा सकि“दै छ । उक्त अवधिमा संरचना नहटाएमा मंसिर २० गते विहानदेखि डोजर परिचालन गरी सडक विस्तारको काम अघि बढाइने सडक डिभिजन कार्यालय हेटौंडा प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइनेछ । उनले भने–१९ गतेसम्म अतिक्रमित संरचना आफैं नभत्काए २० गते विहानबाट अतिक्रमित संरचना भत्काउन डोजर प्रयोग हुन्छ ।
सडक विस्तार कार्य सहज बनाउन हेटौंडामा बाइपास निर्माण तथा मर्मत कार्य तीव्र गरिएको छ । डिभिजन सडक कार्यालयका प्राविधिकस“गै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गरेका छन् । मुख्य बजार क्षेत्रमा सडक विस्तारका कारण सवारी सञ्चालनमा अवरोध हुने भएकाले मंसिर २० गतेदेखि बजार क्षेत्रमा सवारी आवागमन रोक्ने तयारी गरिएको छ । वैकल्पिक मार्गका रुपमा काठमाडौं–भैंसेबाट आउने सवारी चौकीटोल हु“दै राप्ती उकास क्षेत्र र त्रिवेणीधामबाट रातोमाटेतर्फ, पूर्वपश्चिम राजमार्गबाट पूर्व जाने सवारी राप्ती किनार हु“दै रातोमाटेतर्फ, मदन भण्डारी लोकमार्ग तथा कान्तिलोकपथबाट आउने सवारी कमाने हु“दै रातोमाटे निकाल्ने व्यवस्था मिलाइनेछ ।
अतिक्रमित संरचना हटाउन सुरु भएपछि बजार क्षेत्रको मुख्य सडकमा सवारीसाधन आवागमन रोकिने र बाइपास सडक प्रयोग गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सडक विस्तारलाई प्रभावकारी र व्यवस्थितरुपमा अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष टास्क फोर्स गठन गरेको छ । बुधबार बसेको सरोकारवाला निकायको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इञ्जिनियर यादब सुबेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको हो ।
समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दुरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधि सदस्य छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमा रहनेछ । टास्क फोर्सले बुधबारबाट माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायस“ग समन्वय भइरहेको जानकारी दिए ।
हेटौंडा, प्रदेश राजधानी भएकाले यसलाई सुन्दर, व्यवस्थित र सुरक्षित सहरका रुपमा विकास गर्न सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । उनले एसियाली विकास बैंक (एडीबी) बाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले काम कुनै हालतमा नरोकिने स्पष्ट पारे । ॅघरधनीहरुले स्वयम् संरचना हटाइदिए काम झन् सहज हुन्छ । सबै पक्षलाई जितको अनुभूति हुने गरी कार्य अघि बढाइनेछ,’ प्रजिअ अधिकारीले भने ।
सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हु“दै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्यभागबाट दाया‘बाया’ २५–२५ मिटर क्षेत्रभित्र पर्ने स्थायी–अस्थायी संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ । सूचना अवधि सकिएपछि भने संरचनाहरु बलपूर्वक हटाइने बताइएको छ ।









