हेटौंडा÷ बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले धुलो दूध कारखाना निरीक्षण गरेका छन् । प्रदेश सरकारको करिब ४७ करोड लागतमा निर्माण भएको भए पनि सञ्चालन कार्यविधि तयार नहु“दा परीक्षण उत्पादनमै सीमित रहेको कारखानाको अवस्था बुझ्न बिहीबार मन्त्री पौडेल निरीक्षणमा पुगेका हुन् ।
यसअघि २०८० सालमा नै परीक्षण उत्पादन सुरु भएको कारखानाको पूर्णसञ्चालनका लागि आवश्यक कार्यविधि तथा मोडालिटी तयार गर्ने प्रक्रिया लामो समयदेखि जारी छ । निरीक्षणपछि मन्त्री पौडेलले करिब ४७ करोड लागतमा निर्माण भएको धुलो दूध कारखाना हाल परीक्षण उत्पादनमै सीमित रहेको अवस्थामा रहनु, ठूलो लगानी जोखिममा पर्ने सम्भावना रहेकाले यसको सञ्चालन मोडालिटी र कार्यविधि तयार पार्ने कामलाई आफूहरुले अन्तिम चरणमा पु¥याएको बताए ।
उनले आफ्नो निरीक्षणको उद्धेश्य यसको भौतिक र प्राविधिक अवस्था बुझेर, छिटोभन्दा छिटो कार्यविधि तयार गरी पूर्णक्षमतामा सञ्चालन गर्ने सुनिश्चित गर्नु रहेको उनले बताए । मन्त्री पौडेलका अनुसार कारखाना सञ्चालनमा आउ“दा प्रदेशभित्र दूधको अधिक उत्पादन भएको बेला किसानले दूध सडकमा पोख्नुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यता अन्त्य हुनेछ र यसले दुग्ध किसानलाई उचित मूल्यको सुनिश्चितता प्रदान गरी प्रदेशको कृषि अर्थतन्त्रमा ठूलो टेवा पु¥याउनेछ ।
उनले कारखानामा जडान गरिएका उपकरण, भण्डारण क्षमता र हाल भइरहेको परीक्षण उत्पादनको अवस्थाबारे जानकारी लिएपछि कारखानालाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न आवश्यक कार्यविधि छिट्टै स्वीकृत गर्ने बताए । कारखाना स्थापनापछि प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कारखानाबाट धुलो दूध परीक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई जिम्मा दिएको थियो ।









