9.6 C
Makwānpur
Homeराजनीतिदेशलाई सही दिशा दिनुपर्ने दायित्व कांग्रेसको
spot_img

देशलाई सही दिशा दिनुपर्ने दायित्व कांग्रेसको

spot_img

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरुको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत् समाधान खोज्नुपर्ने बताएका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा. कोइरालाले यतिबेला विशेष महाधिवेशनमा पार्टी जानु नहुने भन्दै विशेष महाधिवेशन माग गरेका साथीहरुलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताए । कोइरालाले सामाजिक न्याय र समतामूलक समाज निर्माणको वीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यस मार्गबाट समुन्नतिमा पु¥याउनका लागि द्वन्द्व व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रष्ट भएको बताए ।

- Advertisement - Ad Banner

उनले राष्ट्र र पार्टीको वर्तमान विषम् परिस्थिति रहेको अवस्थामा हठात प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठ भन्दा विपरीत विचारप्रति सहिष्णुता, सहअस्तित्वसाथ द्वन्द्व व्यवस्थापन गर्दै वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकताबद्ध पार्टी निर्माण आजको आवश्यकता रहेको बताए । उनले आफू सदैंव यही अभियानमा रहेको पनि उल्लेख गरे । डा. कोइरालाले आजको मुख्य विषय भनेकै फागुन २१ को निर्वाचन भएको बताउँदै उक्त निर्वाचनमा जान सबै राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई एकतावद्ध बनाउनुपर्ने दायित्व नेपाली कांग्रेसको भएको स्पष्ट पारे ।

उनले भने–यतिबेला नेपाली कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आमनिर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ । कोइरालाले निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताउँदै भने–यतिबेला देशमा भयरहित वातावरण छैन । सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो । यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत् निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं ।

कोइरालाले जेनजी आन्दोलनपछि सरकारमात्र बदलिएको तर संविधान यथावत् रहेको भन्दै फागुन २१ को निर्वाचनमार्फत् बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि बताए । उनले कांग्रेस पार्टीले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याका आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नुपर्ने बताए ।

उनले भने–मुलतः हामीले सोच्नुपर्छ अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाइ कांग्रेसले गर्नुपर्छ । उनले दुई छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सुदृढीकरणमा हामीले विशेष ध्यान दिनुपर्ने भन्दै नेपालको हितमा उपयोग हुने गरी मित्रराष्ट्रहरुको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।

भदौ २३ र २४ गतेपछि आफ्नो मनमा केही प्रश्न उठिरहेको भन्दै २०६२÷०६३ को जनआन्दोलनमा लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु पर्ने छैन भने तर हाल फेरि रक्तपात र भयावहको अवस्था किन आयो ? यो परिस्थिति आउनुमा ककस्को केके कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ? जहानियाँ राणाशासन विरुद्ध फरकढंगले विद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको बिराटनगरस्थित निवास किन ध्वस्त बनाइयो भन्दै त्यसको जवाफ कांग्रेसले खोज्नुपर्ने बताए ।

उनले भने–लौहपुरुष गणेशमान सिंहको निवास चाक्सीबारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रुपमा मैले बुझेको छु । मिडिया हाउस, ब्यापारिक प्रतिष्ठान, निजी घर आदि जल्नु कुनै कोणबाट पनि सही थिएन । निजीक्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न सम्भव छैन् । सभापति शेरबहादुर देउवा र उहाँकी पत्नीमाथि भएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र दुःखद् थियो । यो अमानवीय घटनाको म निन्दा गर्दछु । उनले भदौ २३ र २४ गते घटनामा निष्पक्ष छानबिन गरेर सम्पूर्ण वास्तविकता सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि