ब हेटौंडा/हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले महिलामैत्री सहर (सिटिज फर वुमन) घोषणा गर्ने ऐतिहासिक क्षणमा आफ्ना व्यक्तिगत् पीडा र नेपाली समाजको कठोर यथार्थ उजागर गरेकी छन् । महिला भएर जन्मनु गर्वको कुरा भए पनि नेपाली समाजमा महिला भएर बा“च्नु अझै कठिन रहेको उनले बताएकी छन् ।
जेनजी आन्दोलनपछि समाजमा देखिएको कट्टरपन्थी सोच र महिलामाथिको असहिष्णु व्यवहारले आफू स्तब्ध भएको उनको भनाइ छ । उनले भनेकी छन्—मैले आफ्नो नगरको पक्षमा बोलेकोमात्र थिए“ । तर, मलाई मधेश प्रदेशविरोधी बनाएर प्रचार गरियो । फेसबुक र ह्वाट्सएपमा बलात्कार गर्ने धम्कीका सन्देशहरु आइरहे, रातिराति फोन आए । मेयर लामाका अनुसार हरेक नगरले आफ्ना नागरिकलाई प्राथमिकता दिनु स्वभाविक कुरा हो । तर, उक्त सन्देशको गलत अर्थ लगाइ“दा उनलाई सामाजिकरुपमा आक्रमण गरियो । उनी भन्छिन्—मलाई बलात्कार गरेपछि मात्र हेटौंडाका केही युवा शान्त हुनेजस्ता कुरा लेखिए । जुन नेपाली महिलाको सुरक्षामाथिको ठूलो प्रश्न हो ।
उपमहानगरपालिकाले सहयोगी संस्था संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस) स“ग मिलेर नगरलाई महिलामैत्री सहर घोषणा गर्ने सम्झौता गरेको छ । सम्झौतामा युएनओपीका कन्ट्री डाइरेक्टर कोमल कार्की, सरोज दाहाल, सम्पदा थापालगायत प्रतिनिधि उपस्थित थिए । वडाध्यक्ष राम थापा, नवीन सिग्देल, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, इञ्जिनियर विनित ओझालगायत कर्मचारीले पनि सक्रिय भूमिका खेलेका थिए । सम्झौताको क्रममा मेयर लामाले भनिन्–एउटी नारी बलात्कृत हुन जन्मिएकी होइन । एउटी नारीको उपयोगिता यौन होइन । एउटी नारीले गल्ती गरेकी भए पनि सजाय कानुनी हुनुपर्छ, बलात्कार होइन । उनले थपिन्–सहरलाई महिलामैत्री घोषणा गर्नु सजिलो होइन, नकारात्मक सोचलाई सकारात्मक अभियानमा बदल्नु नै ठूलो चुनौती हो ।
नगर प्रमुख लामाले यस्तो संवेदनशील परिस्थितिमा पनि आमा, दिदीबहिनी र बालबालिकाका लागि निरन्तर सेवा जारी राखेकी छन् । हेटौंडा उपमहानगरको यस कदमले स्थानीय निकायमा महिलाको नेतृत्व, सुरक्षाको सवाल र सामाजिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । उपमहानगर प्रमुुख लामाले सम्झौताले नगरपालिकाका योजनामा समावेशी र जलवायुप्रतिरोधी सहरी विकासलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । उनले उक्त परियोजनाले महिला र अन्य संवेदनशील समुदायहरुलाई नगर योजना प्रक्रियामा सशक्तरुपमा सहभागी गराउने अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गरिन् । ॅसिटिज फर वुमन’ परियोजनाको उद्धेश्य तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीहरुको सामना गर्न सहयोग पुर्याउनु हो । परियोजनाले हेटौंडाको सहरी पूर्वाधार, खुला स्थान र सामुदायिक पहु“च सुधारका क्षेत्रमा सहयोग पुर्याउनेछ । हेटौंडालाई आधुनिक, सुरक्षित र दीगो सहरका रुपमा रुपान्तरण गर्न परियोजनाले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सम्झौताअनुसार युएनओपीएसले हेटौंडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलरबराबर आर्थिक सहयोग उपलब्ध गराउनेछ । परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले उक्त रकमको ३० देखि ५० प्रतिशत्सम्म लागत साझेदारी गर्नेछ । यसका लागि लैंगिक उत्तरदायी र जलवायुप्रतिरोधी सार्वजनिक खुला स्थानको योजना, डिजाइन र निर्माणमार्फत् नगरपालिकालाई सहयोग गरिनेछ ।









