हेटौंडा/विगत वर्षहरुझैं यस वर्ष पनि हेटौंडा जेसीजले जेसीज सप्ताहको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबारदेखि सुरु हुने वर्ष २०२५ को जेसीज सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका कार्यक्रम तय गरिएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा जेसीज अध्यक्ष पंकजदास बनिया“ले कात्तिक १८ गतेदेखि २२ गतेसम्म आयोजना हुने विभिन्न कार्यक्रमबारे जानकारी दिए । सप्ताहको पहिलो दिन कात्तिक १८ गते विहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । सोही दिन विहान ८ः३० बजे स्लोबाइक प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष दासले जानकारी दिए ।
कात्तिक १९ गते विहान ७ बजे अन्तर–जेसीज वक्तृत्वकला प्रतियोगिता हुने छ भने दिउ“सो २ बजे भुटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ । कात्तिक २० गते विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता जेसीज सचिवालयमा आयोजना हुने छ । जसमा कक्षा–१० सम्मका विद्यार्थीले सहभागिता जनाउनेछन् ।
कात्तिक २१ गते मकवानपुरगढी–६, गुरदाङमा अतिविपन्न एक परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने कार्यक्रम तय गरिएको छ । सप्ताहको अन्तिम दिन कात्तिक २२ गते समापन कार्यक्रम आयोजना हुनेछ । सो अवसरमा उत्कृष्ट सदस्य तथा उत्कृष्ट कार्यक्रम संयोजकलाई अवार्ड वितरण गरिने बताइएको छ









