हेटौंडा/मनहरी–४, मसिनेमा रहेको पशुपतिनाथ माविले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । कक्षा–९ र १० का बालबालिकाबीच ॅहाम्रो पुस्तकालय–हाम्रो भविष्य’ विषयमा वक्तृत्वकला प्रतियोगिता, कक्षा–६ देखि ८ सम्मका बालबालिकाबीच निबन्धलेखन प्रतियोगिता र कक्षा–४ र ५ का बालबालिकाबीच पुुस्तकालय उपयोग र अध्ययन गर्ने तरिकाबारे जानकारीमूलक कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक सपना लामाको सभाध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा–१० की इरानी थापा प्रथम, रोशनी बर्तौला द्वितीय र गुरा“स वाइबा तृतीय भइ पुरस्कृत भएका छन् । विद्यालयका पूर्वप्रधानाध्यापक भानुभक्त आचार्य संयोजक रहेको निर्णायक मण्डलमा रामचन्द्र तिमल्सिना र शर्मिला सिग्देल सदस्य थिए । शिक्षक ईश्वर रिजालले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीले नेपालमा पुस्तकालयको स्थापना, महत्व र पछिल्लो समयमा सामाजिकसञ्जालका कारण पुस्तकालयमा पाठक घट्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
कक्षा–६ देखि ८ सम्मका ३० जनाले सहभागिता जनाएको र सबैको निबन्ध अध्ययन गरी केही दिनभित्र प्रथम, द्वितीय, तृतीय घोषणा गरिने प्रअ लामाले जानकारी दिएकी छन् । बालबालिकालाई पुस्तकालयको महत्वबारे जानकारी गराउने र पुस्तक अध्ययन गर्ने बानी विकासका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । निबन्ध प्रतियोगितामा शिक्षक ज्योति थापा, प्रशान्त यादब, राजेन्द्र काफ्लेलगायत शिक्षकले सहजीकरण गरेका थिए । शिक्षक बिमला बिष्ट, बबिता अधिकारी, सुमित्रा ढकालले बालबालिकालाई पुस्तकालयको प्रयोगबारे सहजीकरण गरेका थिए ।









