हेटौंडा/हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइ“दै छ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खा“दै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडिलोका लागि अघिल्लो सा“झ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।
ेसनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीसाथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ । दरखाने दिन परिवार, नातेदार र आफन्तबीच एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्य, आफन्त र साथीहरुलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउ“मा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउ“छ ।
तीज र दरखाने दिन महिलाका लागि विशेष अवसर हो, जहा“ उनीहरु आफ्नो सुखदुःख बा“ड्न सक्छन् । यो दिन महिलाले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मकरुपमा सशक्त बन्ने मौका पाउ“छन् । शाब्दिकरुपमा ॅदर’ भनेको दरो वा बलियो भन्ने बुझिन्छ । भोलि व्रत वा पूजाअर्चना गरेरमात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ॅदर खाने दिन’ भनिएको हो ।
हेटौंडाका स“स्कृतिविद् रामचन्द्र आचार्यका अनुसार धार्मिक मान्यतानुसार सत्ययुगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाकै दिन दर खाइ तृतीयामा व्रत तथा पूजाको प्रभावले महादेव स्वामी पाएको विश्वास छ । ॅत्यसैले दर खाने दिनले सामाजिक, सा“स्कृतिक, र धार्मिक दृष्टिकोणले विशेष महत्व राख्दछ,’ उनले भने । तीजको दिन भोले बाबाको व्रत बस्दा भोको पेट भयो भने स्वभाविकरुपमा व्रतालुको ध्यान भोक र भोजनतिर जाने भएकोले पूर्ण ध्यान भगवान्मा मात्र जाओस् भन्ने उद्धेश्यले अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण दरिलो परिकार भोजन गर्ने चलन छ ।
परिवारका सबै सदस्य, आफन्त र साथीहरु एक ठाउ“मा भेला भएर विशेषरुपमा गीतसंगीत, नृत्य र भजनकीर्तनको पनि आयोजना गरिन्छ । यस दिन पारिवारिक वातावरणलाई अझ रमाइलो बनाइन्छ । यस समयमा परम्परागत् गीत पनि गाइन्छन् जसमा दुःख, सुख र भावनाहरु व्यक्त हुन्छन् । तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहिताले योग्य पति माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्धेश्यले यस दिन घरघरमा खासगरि दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाले दरका रुपमा खीर, पुरी, तरकारी, सेलरोटी, मिठाइ आदि बनाउने परम्परा पनि छ ।
स्थानअनुसार दरखाने परिकार फरकफरक छन् । आधुनिकतास“गै परिकारमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौं अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् । शहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक, तामसी तथा मदिरायुक्त भोजन समावेश हुन थालेको देखिन्छ । यो दरको नाममा विकृति भएको आचार्य बताउ“छन् ।
ॅदरका नाममा मादकपदार्थ प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा असर पुर्याउ“छ नै, समाज र स्वास्थ्य समेत खलबलिन्छ,’ उनी भन्छन्–यसले बालबच्चा र नया“ पुस्तालाई नराम्रो असर पारेको देखिन्छ । त्यसैले विकृति, विसंगति र खानपिनप्रति सचेत हुन आवश्यक छ ।
नेपाली चेलीहरुले तीजको पूर्वसन्ध्यामा खाने दरस“ग जोडिएका पनि अनेक रमाइला किस्साहरु छन् । तीजको अघिल्लो दिन दर खाने विभिन्न चरणहरु हुन्छन् । पहिले सामान्य खालको खाना खाने, दोस्रो चरणमा अलिकति मीठो मसिनो जस्तै, खिरजस्ता परिकार खाने र अन्तिममा विशेष खालको खाना खाने चलन पहिलेपहिले हुन्थ्यो । माइती आएका चेलीहरु घरपरिवारको दुःखसुख सुनाउ“दै दर खा“दा कहिले भाले बास्ने त कहिले सूर्योदय भएर मुख्य खानेकुरा खान नपाउ“दा कसैले पच्छ्यौराले घाम छिर्ने झ्यालको प्वाल छोपेर दर खाएको त कसैले भालेलाई श्राप दिएको जस्ता रोचक प्रसंगहरु दरस“ग जोडिएको किम्वदन्तीमा सुन्न पाइन्छ ।
तीजलाई हरितालिका पनि भनिन्छ । हरित अर्थात् हरिएकी र आलि अर्थात् सति । हरिएकी सति अर्थात् पार्वतीले महादेव वर पाऊ“ भनी व्रत बसेर सफल भएको भन्ने विश्वासका आधारमा यस पर्व मनाउने गरिन्छ । नेपाली समाजमा जति हरितालिका तीजलाई चर्चा र महत्व दिइन्छ, उति दर खाने दिनको चर्चा हु“दैन । तर स“स्कृतिविद् भने तीज र दरखाने दिनको सुरुवात स“गस“गै भएको बताउ“छन् । तर, हालको दर एउटा अवैज्ञानिक देखासिखीको शिकार भएको छ ।
तीजको ऐतिहासिकता खोज्दा यसको चर्चा पुराणकालमै भएको पाइन्छ । महादेव पति पाउन व्रत बसेकी पार्वतीको विवाह भगवान् विष्णुस“ग गरिदिन लागेपछि घरबाट भागेकी पार्वतीले बसेको व्रत नै तीजको व्रत हो र अघिल्लो दिन खाएको मिष्ठान्न भोजन नै दर हो भन्ने धर्मशास्त्रका जानकारहरुको मत छ । आचार्य तीज पर्वको उल्लेख स्कन्द पुराणमा रहेको बताउ“छन् । जुन अनुमानित आठौं शताब्दीमा लेखिएको पुराण रहेको विद्वानहरुको अनुमान छ । त्यसपछि तिनै पुराणहरुको हवाला दि“दै व्रतराज भन्ने पुस्तकमा पनि तीजको ऐतिहासिकताबारे उल्लेख छ । ती सबै पुस्तकमा दर खाने दिनलाई पर्वको रुपमा त उल्लेख गरिएको छैन । यद्यपि, ती ग्रन्थमा पनि दरको प्रसंग पाउन सकिने उनको कथन छ ।
दरको रुपमा मदिराको विकृति
हाल वास्तविक स“स्कृतिअनुसार दरको रुपमा केके परिकार पकाइन्छ भन्ने कुरा धेरैलाई जानकारी हुन छाडेको छ । विकृतिले दरको रुपमा मांस र मदिरालाई समेत समेटेको छ । तर, परम्परागत तीजको दरलाई हेर्ने हो भने यो मांसबर्जित र केवल दुग्ध पदार्थको बाहुल्यता रहेको खाना दरका रुपमा विशेष थियो ।
पोषणविद्हरु पोषण र मौलिकताको हिसाबले पनि मांस र मदिरा दरस“ग मिसाउनु उपयुक्त नरहेको दाबी गर्छन् । पोषणविद् उमा कोइराला आफूहरुको पालामा मांस र मदिरा तीजको अघिल्लो दिन खानै बर्जित रहेको बताउ“छिन् । यो अधिकांश पहाडी भेगमा हाल पनि बर्जित छ, यसको पछि वैज्ञानिक कारण पनि छ । यसको कारण सुनाउ“दै उनी भन्छिन्–पहिलो कुरा त पहाडी स“स्कृतिअनुसार व्रत बस्ने अघिल्लोदिन मांससेवन बर्जित छ । दोस्रो कुरा, भोलिपल्ट निर्जला व्रत बस्नेहरुको लागि दूधजन्य परिकारहरु खिर, कुरौनी आदि जति पोषिलो र भोलिपल्टसम्मको लागि ऊर्जा प्रदान गर्ने खालको हुन्छ, त्यति शक्ति मासुमा नपाइने भएकोले दरमा मासुको प्रयोग उचित पनि हु“दैन ।
कतिबेला खाने दर ? केके खाने ?
आखिर दर कतिबेला खाने ? यो विवादित कुरा हो । फरकफरक प्रसंगलाई टेकेर कसैले यो विहान सूर्योदयअघिसम्म खान हुने तर्क गर्छन् भने कसैले भाले बास्नुअघिसम्म खान हुने तर्क गर्छन् । कसैले मध्यरात अर्थात् १२ बजेपछि खान नहुने तर्क गर्छन् । यस प्रसंगमा आचार्य भन्छन्–अनेक प्रसंगले जे कुरा गरेको भए पनि मध्यरात अर्थात् राति १२ बजेअघि नै दर खाइसक्नुपर्छ ।
नेपालमा चन्द्रमासको दिन निर्धारण सूर्योदयको आधारमा गरिन्छ । जसका कारण कतिपयले सूर्योदयपूर्वसम्म दर खान हुन्छ भन्ने मान्यता राख्छन् । शास्त्रले जुठो, सुतक, रजस्वला आदि बार्ने सवालमा रात्रिलाई ३ भाग लगाउने, २ भाग अघिल्लो दिन र एक भाग भोलिपल्ट मानेर सोहीअनुसार दिन निर्धारण गर्न भनेको छ । तर, व्रतको लागि हो भने उषाकाल, व्रह्ममुहूर्त आदिको आधारमा छुट्याउने गरिन्छ । दर खाने सवालमा भने अर्धरात्रि कालभन्दा पछि दर खानु शास्त्रसम्मत नरहेको आचार्य बताउ“छन् ।
अरु व्रतमा किन खाइ“दैन दर ?
तीजको व्रतमा मात्र किन दर खाने भन्ने प्रश्न आउन सक्छ । हिन्दुहरुको व्रत बस्ने अनेक पर्वहरु हुन्छन् तर अरुमा दर खाने चलन छैन । तर, तीजमा मात्र किन आयो दर खाने चलन । आचार्य भन्छन्–तीजको व्रत अरु व्रतको तुलनामा कट्टर हुन्छ । अर्कोतिर, अरु व्रतको समयमा महिलाहरुले पानी र फलफुलजस्ता खानेकुरा खाएर बस्छन् भने तीजको व्रतमा पानी पनि खानुहु“दैन भन्ने मान्यता छ । अरु व्रत बस्ने व्रतालुहरुले सूर्यास्तपछि विधिवत् पूजा गरेर व्रत टुंग्याउने गर्छन् । तर, तीजको व्रतमा भोलिपल्ट पनि अगस्तीको पूजा गरेपछि मात्र खाना खान पाइन्छ । यसरी तीजको व्रत अरु व्रतको तुलनामा कट्टर र फरक हुने भएकोले पनि दरको चलन यही एउटा व्रतमा मात्र चलेको हो ।
पोषणको हिसाबमा दरको परिकार
सामान्यतया दरको रुपमा खाने परिकार भनेको दूध हालेर तयार पारिएको ढकनी, चाम्रे, कुरौनी आदि हुन् । कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने गर्छन् । पोषणविद् कोइराला भन्छिन्–परापूर्वकालदेखि दरका रुपमा जे खानेकुरा खाइन्थ्यो, ती खानेकुराहरु हाल पनि महिलाहरुका लागि एक्सपेन्सिभ र लक्जरियस खानेकुरामा गनिन्छ । जुन वैज्ञानिक हिसाबले पेटको स्वास्थ्यलाई ध्यान दिएर तयार पारिएका परिकारहरु हुन् । जस्तो सुरुमा घिउ र दूधको परिकार खाइन्छ, त्यसले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्ने भएकोले अन्तिममा दही खाएर पाचन प्रक्रिया सवल बनाउने गरिन्छ । जुन घिउ र दूधबाट बनेको ढकनीलगायत खानेकुराहरु छन्, त्यसले सिंगै एक दिनभरका लागि मान्छेलाई तागत दिने शक्ति राख्छ । त्यसैले पनि दरका रुपमा बढी दूधजन्य खानेकुरा खाने गरिएको पाइन्छ ।









