हेटौंडा/नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ । सोमबार हेटौंडामा सय दिन सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई ४ थान पंखा र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ ।
युनियनले सय दिन सदस्य विशेष अभियानको शुभारम्भस“गै सोमबार हेटौंडामा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियन मकवानपुर उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा युनियन मकवानपुर अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघसंस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैं प्राथमिकतामा राख्दै आएको बताए । ॅयसले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास हामीले गरेका छौं,’ उनले भने ।
कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुर संस्थापक अध्यक्ष राममणि दाहाल, पूर्वकेन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, संस्थापक प्रदेश अध्यक्ष तथा प्रताप बिष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिक समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा, पत्रकार रामकुमार एलन र मकवानपुर अध्यक्ष निशा गुरुङलगायतको उपस्थिति थियो ।
मकवानपुरमा प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज उठाउने प्रमुख संस्थामध्ये एक हो । विभिन्न समयमा प्रेस युनियनको अन्य शाखामध्ये मकवानपुर शाखा चलायमान रहेको भन्दै बैठक तथा कार्यक्रमहरुमा केन्द्रीय समितिद्वारा प्रशंसित भएको छ ।









