हेटौंडा/आज श्रीकृष्ण जन्माष्टमी, देशभर धुमधामसाथ मनाइँदैछ । भगवान् श्रीकृष्णको जन्म भएको अवसरमा देशभर यस पर्व श्रीकृष्णको पूजाआराधना गरी मनाइने गरिन्छ ।
पौराणिक कथनअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरुसँगको लडाईंमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त श्रीमद्भागवत् गीता हिन्दुहरुको पवित्र ग्रन्थ मानिन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यस दिन विशेषगरि महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रुप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको छ ।
कृष्ण जन्माष्टमीको दिन अधिक भिडभाड हुने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि विहानदेखि भक्तजनको भिड लाग्ने गर्दछ । काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजाआराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ ।









