हेटौंडा/मकवानपुरले स्वास्थ्य शिक्षाक्षेत्रमा ऐतिहासिक फड्को मारेको छ । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति पाएको हो ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई ५० सिट क्षमतासहित एमबीबीएस अध्यापनका लागि स्वीकृति दिएको हो । प्रतिष्ठानलाई ‘प्रदेश गौरव आयोजना’ का रुपमा राखिएको छ । यसपटकदेखि एमबीबीएस पढाउने थप दुई संस्था थपिँदा हेटौंडाले पनि मौका पाएको हो । थपिएको संस्था सरकारी संस्था हो । चिकित्सा शिक्षा आयोगको २१ औं बोर्ड बैठकले हेटौंडामा रहेको प्रतिष्ठानलाई ५० सिट दिने निर्णय गरेको छ ।
उक्त निर्णयसँगै मकवानपुर जिल्लालाई स्वास्थ्य शिक्षा तथा सेवाको केन्द्र बनाउने दिशामा थप एक कदम अगाडि बढाइएको छ । यसअघि स्नातक तहमा सञ्चालित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केहीमा सिट संख्यासमेत वृद्धि गरिएको छ । विशेषगरि बीएससी नर्सिङ कार्यक्रममा सिट संख्या २० बाट बढाएर ३० पुर्याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), पब्लिक हेल्थ (बीपीएच) तथा ब्याचलर इन फार्मेसी कार्यक्रमहरुमा भने क्रमशः २०, २० र ३० सिट कायम राखिएको छ ।
यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहका चिकित्सा कार्यक्रमहरु पनि सुरु भएका छन् । एमडी तहमा सात वटा विभिन्न विशेषज्ञ विषयमा कुल ८ सिटमा अध्यापन सुरु गरिएको छ । स्त्री तथा प्रसुति, आन्तरिक रोग, सामान्य शल्यक्रिया, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजी जस्ता विभागमा स्नातकोत्तर अध्ययनको व्यवस्था मिलाइएको छ ।
२०७६ मा बागमती प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएपछि २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा अन्य पदाधिकारी नियुक्त गर्दै प्रतिष्ठानले औपचारिकरुपमा काम प्रारम्भ गरेको हो ।
स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिनुले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको केन्द्रका रुपमा स्थापित गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको भनाइ छ । उनका अनुसार प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवद्र्धन गर्दै आएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार हेटौंडा अस्पतालमार्फत् हाल दैनिक १ हजार ५ सय भन्दा बढीले उपचार सेवा लिइरहेका छन् । छिमेकी प्रदेशका बिरामी पनि यहा’ उपचारका लागि आउने गरेको उल्लेख गर्दै उनले प्रतिष्ठानबाट दीर्घकालमा देशभरका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘हामीले अघिल्लो शैक्षिक सत्रदेखि एमडी एमएस ८ सिट पढाइरहेका छौं । यसपटक एमबीबीएस पनि ५० सिटबाट सुरु गर्न पायौं । हामी खुशी छौं,’ उनले भने ।
स्थानीय तहदेखि संघीय सरकारसम्मको सहकार्य, पूर्वाधार विस्तार र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित उक्त प्रयासले हेटौंडालाई स्वास्थ्य शिक्षा तथा सेवाको महत्वपूर्ण हब बनाउने विश्वास लिइएको छ । मकवानपुरका बासिन्दामाझ उक्त खबरले उत्साह थपेको छ भने देशभरका स्वास्थ्य शिक्षा रुचाउने विद्यार्थीहरुका लागि यो नयाँ अवसरको ढोका खुलेको छ ।









