हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१० स्थित तुल्सीमेहर मेमोरियल माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरेको छ ।
विद्यालयले शनिबार एक समारोह आयोजना गरी ५२ जना विद्यार्थी, विद्यार्थीका अभिभावक तथा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्याएका ८ जना शिक्षकलाई नगद, मायाको चिनो र प्रमाणपत्रसहित सम्मानित गरेको हो । सम्मानित शिक्षकमा अंग्रेजी विषयकी पुष्पा भट्टराई, गणितका देवेन्द्र चापागाईं, विज्ञानका पवन त्रिपाठी, प्रतिभा बुढाथोकी र महेश खराल, कम्प्युटर विषयका सुरेन्द्र गौतम, नेपालीका कमल नेपाल तथा सामाजिक शिक्षाका सन्दीप न्यौपाने छन् ।
विद्यालयका प्रिन्सिपल रघुनाथ खरालको सभाध्यक्षतामा भएको कार्यक्रममा एस एजुकेसन अध्यक्ष तथा मकवानपुर उद्योग संघ अध्यक्ष बद्रीनाथ शर्मा प्रमुखको आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले शिक्षालय, विद्यार्थी र अभिभावक त्रिवेणीको संगम नै शैक्षिक सफलताको आधार भएको उल्लेख गर्दै वैज्ञानिक युगमा शिक्षकको भूमिकाको मूल्य समयक्रमस“गै अझ बढ्दै जाने धारणा राखे ।
प्रिन्सिपल खरालले यसअघि उत्कृष्ट विद्यार्थीलाई कविलास रिसोर्टमा सम्मान गरिसकेको जानकारी दि“दै भने–विद्यार्थीमात्र होइन, उनीहरुको सफलता पछाडिको आधार अभिभावक र शिक्षक पनि सम्मानयोग्य छन् भन्ने सोचले कार्यक्रम गरिएको हो । विद्यालयबाट एसईई उत्तीर्ण गरी नारायणी कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क र मासिक शुल्कमा ५० प्रतिशत् छुट व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा अभिभावक प्रतिनिधिका रुपमा सुदिना स्याङ्बो र सुभद्रा सापकोटाले मन्तव्य व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य डा. गोपी बञ्जरा र अचला शर्माले विद्यालयको पहलको प्रशंसा गरे । शिक्षक प्रतिनिधिका रुपमा माध्यमिक संयोजक देवेन्द्र चापागार्इंले भावनात्मक मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल कमल नेपालले स्वागत मन्तव्य राखेका थिए ।









