हेटौंडा/हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सिपयुक्त शिक्षक उत्पादनका लागि ११ र १२ शिक्षामा निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । हाल नेपालको शिक्षाक्षेत्रमा शिक्षक अभाव देखिएकाले सामाजिक उत्तरदायित्वको भावना र गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टले नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरको सहकार्यमा सिपयुक्त शिक्षक उत्पादन उद्धेश्यले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको म्यानेजमेन्ट प्रमुख पुरनबहादुर जोशीले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।
उक्त शिक्षामा गणितमा १०, नेपाली १० र अंग्रेजी १० गरी ३० जनालाई निःशुल्क शिक्षा दिइने छ । २ वर्षपछि स्नातक तह पनि सञ्चालन गरिने जोशीले जानकारी दिए । महिला, जनजाति र दलितलाई प्राथमिकता दिइने उनको भनाइ छ । कक्षामा भर्ना हुन र अध्ययन गर्न कुनै शुल्क नलाग्ने जानकारी दिइएको छ ।
उनका अनुसार हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सम्पूर्ण कार्यक्रमको नेतृत्व लिनेछ । नवोदय शिशु सदनले ल्याब स्कुलको भूमिका निर्वाह गर्नेछ, जसमा विद्यालयले प्रशिक्षार्थी शिक्षकहरुलाई कक्षाकोठाको प्रयोगात्मक सिकाइ प्रदान गर्दछ भने नवोदय इनोभेसन सेन्टरले शिक्षक प्रदान गर्दछ । कार्यक्रमले सम्पूर्ण शिक्षा समुदायलाई समेट्ने र सशक्त बनाउने प्रयास गर्नेछ । शैक्षिक कार्यक्रम साउन ११ गतेदेखि दैनिक ४ घण्टा कक्षा सञ्चालन हुने छ ।
हप्तामा दुई दिन विद्यार्थीलाई तीन समूहमा विभाजन गरी आधारभुत तहको शैक्षिक विषयवस्तु र शैक्षिक सिप प्रदान गरिने छ । यसको उद्धेश्य अंग्रेजी, सामाजिक र नेपाली अनि विज्ञान र गणित शिक्षक उत्पादन गर्नु छ । विद्यार्थीहरुलाई जोड २ कोर्स बाहेक हप्तामा दुई दिन विशेषज्ञ शिक्षकबाट व्यवस्था गरिनेछ । उक्त दिन विद्यार्थीहरुलाई खानाको व्यवस्था पनि निःशुल्क प्रदान गरिनेछ । उपस्थितिका आधारमा प्रतिमहिना १ हजारका दरले ॅपकेट खर्च’ प्रदान गरिने छ ।
विज्ञान विषय ऐच्छिक नभए पनि विज्ञान शिक्षक यस कार्यक्रमका माध्यमबाट उत्पादन गरिने छ । प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रत्येक हप्ता केही दिन सम्बन्धित विषय अध्यापन गराउन सक्षम हुने गरी तालिम प्रदान गरिने छ । प्रशिक्षार्थी विद्यार्थीलाई कार्यशाला र प्रशिक्षण कार्यक्रम विशेषज्ञमार्फत् नियमितरुपमा सञ्चालन गरिने छ ।
विद्यार्थीलाई विभिन्न विद्यालयमा आफूले सिकेका कुराहरुलाई व्यक्त गर्ने, विभिन्न विद्यालय भ्रमण र कक्षाशिक्षण, विद्यालय अवलोकन गर्ने मौका प्रदान गरिने छ । जसबाट अब्बल विद्यालयमा काम गर्ने शिक्षकले कसरी काम गर्दा रहेछन्, कसरी विद्यालय प्रशासनले काम गर्दो रहेछ भनेर जानकारी हासिल हुने गर्दछ ।









