हेटौंडा/राप्रपा मकवानपुर क्षेत्र–१ (ख) को अधिवेशन तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । अधिवेशन आगामी शनिबार हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा विहान ११ बजे प्रमुख अतिथि दीपकबहादुर सिंहको उपस्थितिमा हुने कार्यक्रम तय गरिएको छ ।
हाल हेटौंडा–४ निवासी युवा समाजसेवी उमेश थापाको अध्यक्षतामा रहेको आयोजक समिति राप्रपा मकवानपुरको सक्रिय कमिटीका रुपमा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रह“दै आएको छ । थापा बागमती प्रदेश सभामुखको सचिवालयमा कार्यरत् छन् भने स्थानीयस्तरमा सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन् । खेलकुद, अनाथ र असहायको सहयोगमा समेत सक्रिय उनी विभिन्न संघसंस्थामार्फत् सेवा गर्दै आएका छन् ।
अध्यक्ष थापाका अनुसार असार २८ गते हुने अधिवेशनले नया“ नेतृत्व चयन गर्दै कार्यसमिति निर्माण गर्नेछ । जिल्ला अधिवेशनअन्तर्गत् क्षेत्रीय अधिवेशनपछि महिला संगठनको अधिवेशन गरिने र भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गरिने तयारी रहेको राप्रपा युवा नेता मुरारि पौडेलले जानकारी दिए । राप्रपाको संगठन विस्तार र नवीन नेतृत्व निर्माणका लागि अधिवेशनलाई महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ ।









