22.2 C
Makwānpur
Homeमुख्य समाचारकक्षा–११ देखि निःशुल्क कक्षाको लहर
spot_img

कक्षा–११ देखि निःशुल्क कक्षाको लहर

spot_img

हेटौंडा/एसईईको नतिजा आएसँगै हेटौंडाका विद्यालयहरुमा कक्षा–११ देखि निःशुल्क कक्षाको लहर चलेको छ । हालसम्म एक सामुदायिक र एक संस्थागत् विद्यालयले उक्त घोषणा गरेका हुन् ।

्‌हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा–११ र १२ मा शिक्षाशास्त्र संकायअन्तर्गत् निःशुल्क पठनपाठन सञ्चालन गर्ने उद्घोष गर्दा हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस वर्ष भर्ना भएका सबैलाई विज्ञान संकायमा निः शुल्क अध्यापन गराउने बताएको छ ।

- Advertisement - Ad Banner

शिक्षाक्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ । शिक्षाक्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको हो । पछिल्लो समय दक्ष शिक्षक अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निःशुल्क पठनपाठन व्यवस्था गर्ने निर्णय गरिएको हो ।

विद्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नेपाली, अंग्रेजी र गणित विषयमा कक्षा सञ्चालन गरिनेछ । अध्ययनसँगै व्यवहारिक शिक्षण अभ्यासको अवसरसमेत प्रदान गरिने उल्लेख छ । यस्तो अभ्यासले विद्यार्थीमा शिक्षण क्षेत्रमा आत्मविश्वास र व्यवहारिक दक्षता विकास हुने विद्यालयको विश्वास छ ।

विद्यालयका अनुसार शिक्षाशास्त्र संकायका लागि सीमित संख्यामा मात्र विद्यार्थी भर्ना लिइनेछ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले २०५२ सालदेखि शिक्षाक्षेत्रमा सेवा दिँदै आएको हो । हाल विद्यालयमा कक्षा–११ र १२ मा विज्ञान, वाणिज्य, होटल म्यानेजमेन्ट तथा व्युटिसियन संकाय सञ्चालनमा छन् ।

केही वर्षअघि मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण घटेपछि ती संकाय हटाइएको थियो । तर, वर्तमानमा शिक्षक अभावलाई सम्बोधन गर्न पुनः शिक्षाशास्त्र संकाय पुनर्स्थापना गर्दै निःशुल्क पठनपाठनको सुबिधा ल्याइएको हो । विद्यालय प्रशासनले इच्छुक विद्यार्थीलाई समयमै फारम भर्न र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

हेटौंडा–१६ ले भने शिक्षाको विकास र सामाजिक उत्तरदयित्वस्वरुप जनप्रिय माविमा विज्ञान अध्ययन गर्ने सबैलाई निः शुल्क पठनपठनको व्यवस्थापन गर्न लागेको हो । वडामा रहेको नमूना विद्यालय जनप्रियलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउन यस्तो अभियान सुरु गरिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए । देशमा विज्ञान तथा गणित विषयका जनशक्ति अपुग भएको र शिक्षामा दक्ष जनशक्ति भिँयाउन उक्त अभियान उदाहरणीय हुने उनको दाबी छ । विज्ञान संकाय सामान्य परिवारका व्यक्तिलाई महंगो पर्ने र इच्छा भएर पनि अन्य साधारण धारका विषयतर्फ अध्ययन गर्न बाध्य हुनुपर्ने अवस्था अन्त्य गर्न यसलाई धेरै सरोकारवालाले उदाहरणीय कार्यका रुपमा लिएका छन् ।

जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले भौतिक अवस्था र शिक्षाको गुणस्तरमा मध्यनेपालकै हबका रुपमा विकसित हुँदै गएकोले निर्धक्क र निः शुल्क विज्ञान संकाय अध्ययन गर्न जनप्रिय मावि आउन सरोकारवालालाई आग्रह गरेका छन् । प्राविधिक धारका बालीविज्ञान, पशुविज्ञान तथा इलेक्ट्रिकल इञ्जिनियरिङ विषयमा लामो समयदेखि दक्ष जनशक्तिबाट अध्यापन गराउँदै आएको जनप्रियमा विज्ञान संकाय सञ्चालन गर्न थप जनशक्तिसमेत धेरै आवश्यक नपर्ने चौलागाईंको दाबी छ ।

विगतको तुलनामा नतिजामा गुणात्मक सुधार हुँदै गएको जनप्रियमा देशका जुन कुनै भागबाट पनि निः शुल्क विज्ञान संकाय अध्ययन गर्न आउन सकिने चौलागाईंको भनाइ छ । रोजगारी र स्वरोजगारका क्षेत्रमा ख्याति कमाउँदै आएको जनप्रियले यस वर्षबाट भने वडा कार्यालयको व्यवस्थापनमा विज्ञान संकाय निः शुल्क सञ्चालन गर्न लागेको हो ।

पूर्वी क्षेत्रको शिक्षा विकासमा लागिपरेका समाजसेवी एवम् ज्योति मावि हर्नामाडीका विव्यस अध्यक्ष हर्क रम्तेलले जनप्रियमा सञ्चालन हुने निःशुल्क विज्ञान संकाय सफलताको शुभकामना व्यक्त गरे । हेटौंडा–१६ निवासी समाजसेवी एवम् जनप्रियका स्रोत खोजी व्यवस्थापन संयोजक कृष्णप्रसाद पनेरुले कक्षा–११ को विज्ञान संकायमा जनप्रिय माविबाट एसईई उत्तीर्ण गर्ने तथा वडाबाट जनप्रिय माविमा विज्ञान विषय पढ्ने सबै विद्यार्थीलाई शैक्षिक प्रोत्साहनस्वरुप जनही २ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि