हेटौंडा/रोजगारीको अवसर नपाएको भन्दै वैदेशिकयात्रामा लाग्ने युवालाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको रोजगार प्रवद्र्धन मेलाको करिब ८ सय जनाले अवलोकन गरेका छन् ।
साना सिप सिकेर पनि यहीं दैनिकीलाई सहज बनाउन सकिन्छ भन्ने जानकारी दिने उद्धेश्यसहित उपमहानगरले उद्योग संघ मकवानपुरसँगको सहकार्यमा बुधबार आयोजना गरेको मेलाको ८ सय युवाहरुले अवलोकन गरेका हुन् । मेलाको विद्यालय, कलेजका विद्यार्थी, उद्योगी/व्यवसायी तथा रोजगारीको अवसर खोजी युवाहरुले अवलोकन गरेका थिए ।
मेलामा रोजगारीको खोजीका लागि आएका युवाहरुलाई व्यावसायिक क्षेत्रमा लामो समयदेखिका अनुभवी व्यवसायी तथा उद्योगीले आवश्यक सहजीकरण गरेका थिए । कुल ५१ वटा स्टल रहेको मेलामा हेटौंडा औद्योगिक क्षेत्रका ३० भन्दा बढी र उपमहानगरपालिकाले विभिन्न समयमा तालिम दिएका साना तथा घरेलु उद्योगका २० स्टल थिए । मेलामा उपमहानगरले तालिम दिएर उत्पादनमा रहेका हस्तकलाका सामग्री, ढाकाका कपडा, गुन्द्रुक, बेसार, आलुचिप्स, दालमोठ, ह्याण्ड ब्याग, कृषि उत्पादन मोहीसहितको स्टल थियो ।
औद्योगिक क्षेत्रमा उत्पादन भएका प्लाष्टिकका भाँडा, सर्फ, साबुन, खाद्यपदार्थका भाँडा, बिस्कुट, पोल्ट्री पेलेट, माटोका टायलसहित सामग्री राखिएका थिए । उद्योगका उत्पादन अवलोकन गर्दै रोजगारीको खोजी गर्ने व्यक्तिहरुसँग निजीक्षेत्र र सरोकारवालाबीच रोजगारमा पहँुच अभिबृद्धिसम्बन्धि परामर्श दिइएको उपमहानगर आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए । मेलामा रोजगारीलाई अवसर प्रदान गर्ने रोजगारदाता थिए । रोजगारीको अवसर सिर्जना गर्ने उद्धेश्यसहित आयोजना गरिएको मेलामा उपमहानगरबाट सिप एवम् तालिमप्राप्त गरी स्थानीयस्तरमा स्वरोजगार भएका महिला उद्यमीले अवलोकनकर्ताहरुलाई स्वरोजगार बन्नका लागि आवश्यक रायपरामर्श दिएका थिए ।
मेलामा रोजगारीको अवसर खोज्दै आउनेहरुका लागि उपमहानगरले क्युआर कोडमार्फत् अनलाइन फारम भरी सूचीकृत हुने अवसर प्रदान गरेको थियो । सूचीकृत भएकालाई दक्ष र अर्धदक्षताका आधारमा रोजगारीका लागि समन्वय गरिनेछ । उद्योग संघ मकवानपुर अध्यक्ष बद्रिनाथ शर्माको सभाध्यक्षतामा भएको मेलाको उद्घाटन बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले र समापन हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले गरेका थिए ।









